बोल्दा हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती होः विश्वप्रकाश शर्मा

शुक्रबार, २२ असार २०८०

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गम्भीर विषयमा बोल्दा हेक्का नराख्नु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गल्ती भएको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँगको कुराकानीमा बोल्दै गर्दा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिका विषयमा उनले त्यस्तो बताए । “यस्तो गम्भीर विषयमा बोल्दा सांसदले, सामान्य नागरिकले पनि गम्भीरता राख्नुपर्छ । गम्भीरताको हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो,” उनले भने । शर्माले प्रश्न उठाउने विपक्षीको अधिकार भएको पनि बताए । तर, गएको पुस १० गते नेकपा (एमाले)कै सक्रियतामा प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै हस्ताक्षर गर्नेहरूले आफूले बनाएको भन्नुपर्ने बताए ।

“जो मित्रहरूले गम्भीर प्रश्न उठाइरहनुभएको छ । प्रश्न उठाउने विपक्षको अधिकारको सम्मान गर्नुपर्छ । पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा उहाँहरूकै अग्रसरतमा भएको हो भन्ने सम्झिनुपर्छ,” उनी भन्छन् । बोल्दा चिप्लिएका कुरालाई लिएर लामो समय संसद् अवरोध गर्न नुहुने उनको भनाइ छ । “प्रधानमन्त्री बनाउनेहरूले पनि हेक्का राख्नुपर्छ । एउटै कुरामा लामो समय संसद् अवरुद्ध गर्ने भन्दा पनि अन्य कुरामा केन्द्रित भएर जानुपर्छ,” शर्माले भने ।