सीपीसीका शीर्ष नेता जियाजुनलगायतको टोली र राष्ट्रपति बिच भेटवार्ता

आइतबार, ७ साउन २०८०

काठमाडौं— नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का शीर्ष नेता युआन जियाजुनलगायतको टोली र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ ।

आज काठमाडौं आइपुगेको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङक्विङ्ग नगर कमिटी सचिवसमेत रहेका जियाजुनसहितको टोलीले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको र यस भ्रमणले आगामी दिनमा द्विदेशीय सम्बन्धलाई अझ सुमधुर पुर्‍याउने विश्वास व्यक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि जियाजुनले रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भर्चुअल कुराकानी गरेका थिए । श्रीलंका भ्रमण सकेर आज काठमाडौँ आएका उनी यहाँ तीन दिनसम्म रहने जनाइएको छ । जियाजुनले सिंहदरबारमा अहिले प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।