माओवादी बैठक: सुन प्रकरणमा जुनसुकै तहका नेतामा छानबिनको सुई सोझिए पनि छाड्नु नहुने तर्क
काठमाडौं – नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले भ्रष्टाचारको विषयमा प्रश्न उठाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेलामा छानबिनको क्रममा सुई जता गए पनि छाड्न नहुने नेताहरुले बताएका छन् ।
बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रममा भ्रष्टाचार प्रकरणमा छानबिन गर्न कसैले हस्तक्षेप गर्न नहुने सुझाव दिएको एक नेताले बताए ।
ती नेताले भने, ‘पार्टीका नेताहरुको नाम त तोक्नुभएको छैन । तर, छानबिनको क्रममा जहाँसम्म सुई जान्छ, त्यहाँसम्म पुग्नुपर्छ । त्यसमा हाम्रो र अर्काको भनेर हुँदैन ।’
सरकारले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेलामा सुन प्रकरणमा माओवादी नेताहरुको नाम जोडिएको छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको संलग्नता भएको आरोप लाग्दै आइरहेको छ ।
यस्तै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बितेका तीनचार महिनामा निर्वाध रुपमा ३३ पटकभन्दा बढी सुन भित्रिएको खुलेको छ । त्यो प्रकरणमा संलग्न भएका व्यक्तिहरुको नेक्सस उपमहासचिव वर्षमान पुनसम्म रहेको खबर आइरहेको छ ।
सो प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत संलग्नता रहेको भन्दै राजीनामा मागिरहेको छ ।
सुन तस्करी सञ्जालमा माओवादीका शीर्ष तहका नेताहरू नै पर्न थालेपछि प्रधानमन्त्रीकै चाहनामा राजस्व अनुसन्धान विभागबाटै सबै छानबिन गर्न खोजिएको छ ।
अनुसन्धानमा प्रहरीलाई जिम्मा लगाउँदा माओवादी नेताहरूको कनेक्सन बाहिर आउने आशंकाले गर्दा प्रधानमन्त्रीकै चाहनामा प्रहरीलाई बाहिरी घेरामा राखिएको चर्चा छ ।
सुन तस्करीको मुख्य गिरोह जोगाउने उद्देश्यले अहिले अनुसन्धानलाई गलत दिशामा लगिएको भन्दै सत्तापक्ष र विपक्षका नेताहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् । तर, सरकार अझै सकारात्मक छैन ।