गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आमरण अनशन बस्ने सुनील शर्माको चेतावनी
काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनील शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा नदिए आफू आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । आफूलाई बिनाकारण आतंककारीजस्तो बनाएर पक्राउ गरेकाले गृहमन्त्री श्रेष्ठले बिनासर्त राजीनामा दिनैपर्ने उनको माग छ ।
उनले भने, ‘मेरो माग के हो भने– यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने यो प्रजातान्त्रिक सिस्टममा सदनभित्र नैतिक हैसियत भएन भनेर तपाईंहरूको राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सांसदहरूहरूलाई बिनापक्राउ पुर्जी अरेस्ट गरिन्छ भने जनताको अवस्था के होला रु त्यसकारण मेरो माग के हो भने अहिलेको गृहमन्त्री, जसले मलाई आतंकारीजस्तो बनाएर अरेस्ट गर्नुभयो, उहाँले बिनासर्त राजीनामा गर्नुपर्छ । यो मेरो अहिलेदेखि अन्तिमसम्म यो माग रहनेछ । त्यतिन्जेलसम्मका निम्ति म फेरि पनि मेरो पुरानो स्ट्यान्डलाई सभामुखमार्फत दोहोर्याउन चाहन्छु । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न र यो राज्यसत्ता चलाएका प्रधानमन्त्रीहरुले यसमा काम गर्नुहुन्न भने म आमरण अनशन डिक्लिएर गरिदिन्छु । म हेर्छु, के हुन्छ रु त्यसपछि भन्छु ।’
पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि दुई–दुई पटक हातपातसमेत गरेको सांसद शर्माले आरोप लगाए ।