व्यापार व्यवसायका लागि मैले व्यक्तिको जग्गा खरिद गरेको हुः मीनबहादुर गुरुङ
काठमाडौं— भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा सञ्चालक मीनबहादुर गुरुङले आफ्नो व्यापार व्यवसायका लागि ललिता निवासमा आफूले व्यक्तिको जग्गा खरिद गरेको बयान दिएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएको बयानअनुसार उनले ललिता निवास क्याम्पभित्रको जग्गा हालसाबिक भएपछि विभिन्न जग्गा धनीहरुसँग आफूहरुले खरिद गरेको बताए । उनले आफूले खरिद गरेको जग्गामा मोही भए नभएको पनि त्यसबेला जानकारी नभएको बयान दिएका छन् ।
“व्यक्तिको नाममा जग्गा कायम भएपछि मैले खरिद गरेको हुँ,” उनले दिएको बयानमा उल्लेख छ,“मैले व्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होइन ।”
उनले त्यहाँ आवास तथा भाटभटेनीको स्टोर बनाउनका लागि जग्गा खरिद गरेको बयान दिएका छन् । “ललिता निवासको जग्गा म र मेरो परिवारको नाममा खरिद गरेको जग्गामा मात्रै मैले लगानी गरेको हो,” उनको बयानमा उल्लेख छ ।
त्यहाँ जग्गा रहेको जानकारी पनि आफूलाई शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित, रामकाजी कोनेलगायतका व्यक्तिले गराएको बयानमा उल्लेख गरेका छन् ।