माकुराको जालोमा भैंसी फस्दैनः ओली

बिहिबार, ७ भाद्र २०८०

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माकुराको जालोमा भैंसी फस्दैन भन्ने बुझ्नुपर्ने बताएका छन् ।

एमालेसम्वद्ध भूपू सैनिक तथा प्रहरी संगठन, भक्तपुरको कार्यक्रममा बिहीबार अध्यक्ष ओलीले सो बताएका हुन् । ‘यिनीहरु माकुरोका जालो बनाउन हिँड्छन् केपी ओलीलाई पार्न’ उनले भने, ‘केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न जिउले थाहा पाउँछ । केपी ओली आफ्नो देश बनाउने अभियानमा अगाडि बढेको छ । तपाईंहरु विश्वस्त रहनुस् ।’

‘अस्ति एउटा पुलिसको अफिसर बोलेको देखेको थिएँ मेरै नाम लिएर’ अहिले फोहोरी हावा बगेको भन्दै उनले भने, ‘हिजो मेरो मातहतमा बसेर काम गरेको हो । उसलाई राम्ररी थाहा छ, म कुनै भ्रष्टाचारमा संलग्न हुन्न, नराम्रो काम गर्दिन भन्ने देखेको छ, तर आज कसका लागि मेराविरुद्ध बकवास गरेर हिँड्छ?’

‘म प्रधानमन्त्री हुँदा, म परारष्ट्रमन्त्री हुँदा, म गृहमन्त्री हुँदा मेरा काम कारबहीहरुमा एक शब्द नचिप्लिओस् भनेर मैले कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, निर्णय गर्ने गरेको छु ।’

यत्रो भ्रष्टाचार र तस्करीको काण्डहरु भएका बेला पनि एमालेले गर्‍यो भनेर भ्रम छरिएको उनले बताए । अब पनि केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो भनेर प्रचार गर्न सक्ने उनले बताए । हिजो मन्त्री वा प्रधानमन्त्री हुँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने कुनै पनि ठाउँ नराखी काम गरेको ओलीले बताए ।

‘पहिले पञ्चायत कालमा जस्तै झुटैमा जाने हो भने बेग्लै कुरा हो’ हुँदै नभएको कुरामा १० वर्ष सजाय भनेर सुनाएको र त्यो अवधि पूरा भएपछि पनि ४ वर्ष त्यसै थुनेको भन्दै उनले अगाडि भने, ‘तर कानुनले हत्कडी लगाउनसक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन, राखेको छैन ।’