जातीय सद्भाव बिथोल्ने काममा सरकार आफैँ संलग्न छः भगवती न्यौपाने

आइतबार, १० भाद्र २०८०

काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै न्यौपानेले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।

सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्‍याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद भएको समेत बताइन् । सांसद न्यौपानेले भनिन्, ‘आज धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरू सञ्चालन भइराखेका छन् । वास्तवमा बहुजात, बहुधर्म, बहुसंस्कृति हाम्रो नेपालीहरूको जे पहिचान छ । त्यो हाम्रो गर्व हो । अभिशाप होइन । जातीय सद्भावमा खलल पुग्ने गरी जे गतिविधिहरू सञ्चालन भइराखेका छन् । त्यो अत्यन्तै दुःखद छ ।’

सांसद न्यौपानेले संविधान विपरीत गएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरेकी छन् ।