चिकित्सक शिक्षक कल्याण समाज र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीबीच भयो तीन बुँदे सहमति
काठमाडौं— चिकित्सक शिक्षक कल्याण समाज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीबीच तीन बुँदे सहमति भएको छ ।
सहमतिपछि समाजमा आबद्ध चिकित्सक शिक्षक आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर सोमबारदेखि नियमित काममा फर्केका छन् । सहमतिअनुसार एक महिनाभित्र बढुवा प्रक्रिया सुरु गर्ने, त्यसको एक महिनामा सबै काम सक्ने र अन्तर्वार्ताको नतिजा सिनेट (सञ्चालक परिषद)ले पास गर्ने रहेको छ ।
आन्तरिक बढुवा नहुँदा तीन दशकअघि भारत र नेपालको सहकार्यमा स्थापित प्रतिष्ठानका नौ महत्त्वपूर्ण विभाग प्राध्यापकविहीन अवस्थामा सञ्चालनमा छन् । प्राध्यापकबिना प्रतिष्ठान सञ्चालन हुँदा उपचार सेवा र आन्तरिक आम्दानीमा समेत असर परेको छ । सहमतिमा प्रतिष्ठानका तर्फबाट कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्की, शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, अस्पताल निर्देशक प्रा.डा. जगतनारायण प्रसाद र रजिस्ट्रार सूर्य संग्रौलाले हस्ताक्षर गरेका छन् भने आन्दोलनरत पक्षबाट चिकित्सक शिक्षक कल्याण समाजका अध्यक्ष डा। सेराज अहमद खान, मेडिसिन विभागका एडिस्नल प्रोफेसर डा. रवीन मास्के र एनाटोमी विभागका एसोसिएट प्रोफेसर डा. सन्दीप साहले हस्ताक्षर गरेका छन् ।
स्वायत्त संस्था भएकाले सात वर्ष अघिसम्म प्रतिष्ठानले ६–६ महिनामा आन्तरिक बढुवा प्रक्रिया सञ्चालन गर्दै आएको थियो । पछिल्लो समयमा राजनीतिक हस्तक्षेप, पदाधिकारीको व्यक्तिगत स्वार्थ, अनेक खाले भ्रष्टाचारमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगको छानबिन, पदाधिकारीमाथि मुद्दामामिलाले बढुवा प्रक्रिया रोकिएको थियो ।
रोकिएको बढुवा प्रक्रियालाई तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सुरु गरेका थिए । उनीमाथि मुद्दा परेपछि निमित्त उपकुलपति प्रा.डा. सञ्जीव शर्माले निरन्तरता दिएर अन्तर्वार्ता लिइरहेका थिए । पछिल्लो समयमा कायम मुकायम उपकुलपति भएर प्रा.डा. प्रल्हाद कार्की आएपछि उनले लोकसेवा आयोगसँग राय लिने क्रममा आयोगले नयाँ नियमावली बनाएरमात्र बढुवा प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि अचानक रोकिएको थियो ।
चिकित्सकहरूको आन्दोलन चर्किन थालेपछि भएको सहमतिमा २०८० पुस २० गते प्रकाशित आन्तरिक बढुवा, २०७९ माघ २५ गते प्रकाशित सेवाको पदपूर्ति गर्नेको प्रक्रियाको निरन्तरताको व्यवस्थापन गर्नका लागि सरोकारवाला निकायबाट सहमति लिई सम्पूर्ण पदाधिकारी सरोकारवाला समेतको सुझावअनुसार एक महिनाभित्र बाँकी रहेको विभागका अन्तर्वार्ता सञ्चालन गरी एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको हो ।
बढुवाको माग गर्दै बस्पी प्रतिष्ठानमा आन्दोलनरत शिक्षक, कर्मचारीले परीक्षा शाखामा सात दिनअघि र शैक्षिक शाखा ९एकेडेमिक० मा आइतबार तालाबन्दीसमेत गरेर नियमित पठनपाठन र परीक्षा बहिस्कार गरेका थिए भने दिएको जिम्मेवारीबाट बाहिरिएका थिए । यसअघि लोक सेवा आयोगले भने बीपी प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रियामा आयोगको संलग्नतामा मात्र सहमति लिएर मात्र पदपूर्तिसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने भनेको छ । उसले भदौ ७ गते प्रेषित पत्र र प्रतिष्ठानमा सोमबार दर्ता गरिएको पत्रमा बढुवा र पदपूर्तिमा बन्देज लगाएको छ ।
आयोगको पत्रमा भनिएको छ, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०७९’ र ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०७९’ को प्रस्तावित मस्यौदामा संगठन, संरचना र दरबन्दीको विषयमा सम्बन्धित मन्त्रालय र नेपाल सरकारलाई आर्थिक व्ययभार पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति तथा नियुक्ति, बढुवा, विभागीय कारबाहीलगायतका अन्य विषयमा सम्बन्धमा उक्त नियमावलीको मस्यौदामा उल्लिखित व्यवस्थाबमोजिम हुने गरी प्रक्रिया गर्नू ।’ तर यो निर्देशनलाई प्रतिष्ठानका चिकित्सक शिक्षक समाजले प्रक्रियामा रहेको वृत्तिविकाससम्बन्धी प्रक्रियालाई लोकसेवाबाट प्रायोजित ढंगले गलत रिपोर्ट पेस गरी प्रतिष्ठानको नाममा चिठी पठाइएको आरोप लगाउँदै आएको छ ।
यसअघि पनि प्रतिष्ठानले आन्तरिक बढुवा प्रक्रियालाई निरन्तरता दिँदा लोकसेवा आयोगले मौन सहमति जनाउँदै आएको थियो । आन्तरिक बढुवाका लागि स्वास्थ्य मन्त्रालयका कानुन शाखाले समेत सहमति दिँदै आएअनुसार आन्तरिक बढुवाका सवै कागजातका बोधार्थ लोक सेवा आयोगमा प्रतिष्ठानले पठाउँदै आएको थियो ।