सुन काण्ड छानबिन आयोग बनाउने र कार्यादेश कस्तो हुने पहिले नै सहमति भइसकेको छः गृहमन्त्री

सोमबार, ८ असोज २०८०

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानको लागि छानबिन गर्न आयोग बनाउने र त्यसको कार्यादेश कस्तो हुने भन्ने विषयमा पहिले नै सहमति भइसकेको बताएका छन् ।

प्रधानमन्त्रीसहित, एमाले, कांग्रेस तथा अन्य राष्ट्रिय पार्टीका शीर्ष नेताबीच कार्यदल गठनको विषयमा साउन ६ गते भएको सहमतिमै कार्यादेशबारे सहमति भएको बताएका हुन् ।

विराटनगरमा प्रेस सेन्टर मोरङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले यस्तो बताएका हुन् । एमालेले त्यसबेला भएको सहमतिलाई अहिले आएर पालना नगरी अर्को कुरा गरेको उनको भनाइ छ ।

‘कार्यदेश त पहिले नै तय भइसकेको छ । हामी अहिले के भन्न चाहन्छौँ भने साउन ६ गते उच्चस्तरीय आयोग बनाउने विषयमै सहमति भएको छ । त्यहीबेला कार्यदेशमा सहमति भइसकेको छ,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, कांग्रेसका नेता र राष्ट्रिय पार्टीका सबै नेता बसेर कार्यदल बनेको छ । त्यही कार्यदलमा भएको सहमति अनुसार कार्यादेश बन्ने हो । त्यही अनुसार बन्नुपर्छ भन्ने हाम्रो चाहना हो । एमालेले पहिले आफूले सही गरेको कार्यदेशलाई किन सहमति जनाउनु भएको छैन । त्यो उहाँहरुको कुरा भयो ।’