नेपालको भू-राजनीति बुझ्न पढ्नैपर्ने पुस्तक ‘भू-राजनीति समकालिन आयाम’

बिहिबार, ११ असोज २०८०

काठमाडौ – भूराजनीति भन्ने कुरा खास गरेर भूगोलसँग सम्बन्धित विषय हो । म भूगोलको प्राध्यापक भएकोले, भूगोल कै विद्यार्थी भएको नाताले र यसमा पोलिटिकल जोग्राफी भन्ने एउटा विषय पनि हुन्छ । मेरो सानैदेखि यही विषयमा रुचि पनि थियो । मेरो सबैभन्दा बढी अध्ययन र लेखनको विषय पनि यहि हुँदै आएको छ । नेपालको भौगोलिक परिवेश नै भू–राजनीतिक जटिलताले बाधिएकाले पनि हामीले यसबारे अध्ययन गर्न जरुरी छ । हामी दुइ ठूला शक्तिशाली देशहरू भारत र चीनको बिचमा अवस्थित छौं ।

पहिले पहिले नेपाललाई बफर स्टेट भनिन्थ्यो । सुरक्षात्मक देशको रूपमा कहिले यता, कहिले उता भएर भारत चीनको बिचमा द्वन्द नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ भन्ने थियो । अहिले पनि भू–राजनीति दृष्टिकोणले त्यसरी व्याख्या गर्ने चलन छदैछ । नेपाल जस्तो भौगोलिक रूपमा सानो देशमा छिमेकी शक्तिशाली देशहरूले हस्तक्षेप बढाउदै लगे भने देशको सार्वभौमसत्ता र अखण्डता नै खतरामा पर्नसक्छ । यो संबेदनशील परिस्थितिलाई समेत बिचार गरेर हामीले हाम्रो विदेश नीति र छिमेक नीति तय गर्नुपर्ने हुन्छ । छिमेकी र शक्तिशाली देशहरूको र्भू–राजनीतिक स्थिति ठिक ढंगले बुझेर मात्रै हामीले सन्तुलित भूमिका खेल्न सक्छौ ।

यस्तो परिस्थितिमा यो विषय बुझेनौ र कुनै एक देशको पक्ष वा विपक्षमा उभिने गर्‍यौं भने देशको अस्तित्व नै खतरामा पर्नसक्छ । जस्तो अहिले पनि इन्डो (अमेरिकी गठबन्धनमा नेपालको राजनीति कुदिरहेको देखिन्छ । त्यसरी कुद्दाखेरि भू–राजनीतिक सन्तुलन त हुँदैन नि ! दक्षिणलाई खुशी पार्ने नाममा उत्तर रिसाउने वा उत्तरलाई खुशी पार्ने नाममा दक्षिण रिसाउने अवस्था हुनु हाम्रा लागि राम्रो हुँदैन । यस्तो भयो भने नेपालले आफ्नो शान्ति, विकास र स्थायित्वको मिशन पुरा गर्न सक्तैन ।

नेपालको भूराजनीतिको सम्बेदना नै सन्तुलनको राजनीति हो । सन्तुलनको परराष्ट नीति हो । यदि यो नीतिलाई नेपालले अपनाउन सकेन भने नेपाल कुनै पनि बेला जोखिममा पर्न सक्छ । दक्षिणी देश भारको सोच के छ भने सन १९७५ मा सिक्किम कब्जा भएदेखि आजसम्म नेपाललाई पनि कमजोर बनाउने, यहाँका प्राकृतिक साधन सम्पदाहरु र आर्थिक संरचनामाथि आफ्नो प्रभुत्व जमाउने उद्येश्य उसले लिएको छ । उसले अहिले नेपालको भुमि र सार्वभौम सत्तामासमेत असर पुग्नेगरि भुमिका खेलिरहेको देखिन्छ ।

अर्कोतिर अहिले अमेरिका पनि दक्षिणी शक्तिसँग मिलेर नेपाल प्रवेश गरिरहेको छ । भारतको सहयोग र रुचि बेगर अमेरिका पनि यहाँ आउन सक्तैनथ्यो ।उनीहरु दुई शक्तिको मिलन भएर अमेरिका नेपाल आएको छ । यसरी नै देशको सार्वभौम शक्तिको अस्तित्व नै बिलोप हुने जुन खतरा हाम्रा अगाडि मडारिरहेको छ, यसबाट देशको स्वाधीनताको रक्षा गर्न र नागरिकलाई सहि सूचना र जानकारी दिने उद्येश्यले मैले यो किताब लेखेको हु । यसअघि पनि मैले भूराजनीति दाउपेच भन्ने किताब लेखेको थिए । त्यो अलि समग्र र विश्वव्यापी विषयवस्तुमा आधारित थियो । अहिले एशियाली क्षेत्रको भू–राजनीति परिस्थितिले नेपालको सत्तामा कस्तो असर पर्नसक्छ भन्ने विषयलाई अगाडि ल्याउन भू–राजनीतिबारे पुस्तक तयार गरेको हुँ ।

भू–राजनीति समकालीन आयाम भन्ने जुन पुस्तक अहिले बजारमा छ यसमा मैले अहिले जसरी जनताको ब्यापक बिरोधका बाबजुद एमसीसी पास गराइएको छ, त्यो विषय राष्ट्रघाती र देश बिरोधी छ भन्ने कुरा सबै नेपाली जनताले बुझ्नुपर्छ भन्ने मेरो जोड छ । एमसीसी भनेको आइपिएसको अङ्ग हो । त्यसबारे मैले पुस्तकमा चर्चा गरेको छु । एमसीसीको नाममा आउने पैसा कुनै अनुदान होइन, यो त लगानी हो भनेर उनीहरुले नै भनिरहेका छन । त्यति हुदाहुदै पनि यो अनुदान नै हो भनेर यहाँका राजनीतिक दलहरूले जसरी भ्रम छरेका छन, यो पनि राष्ट्रघाती अभियान नै हो । आइपियस भनेको चीनको उदयलाई रोक्नका लागि अमेरिका र ईन्डियाले बनाएको रणनीति हो । र हिन्दप्रशान्त क्षेत्रमा चिनिया उपस्थिति कमजोर बनाउने, व्यापार समाप्त गरिदिने, चीनलाई एक्ल्याउने र चीनको विश्वव्यापी बजार विस्तारको अभियानलाई रोक्ने प्रयास हो आइपिएस । यसमा नेपाललाई पनि जोड्नुपर्छ भनेर उनीहरुले एमसीसी अगाडि बढाएका हुन् ।

आइपिएसको अङ्गको रुपमा रहेको एमसीसी नेपाल आउनुपर्ने एउटा कारण हाम्रो भुमिमा बसेर चीनसँग ट्याकल गर्न सकिन्छ भन्ने नै हो । अर्कोतिर सामरिक शक्तिका लागि आवश्यक पर्ने इनर्जीका हिसावले नेपाल धनि छ । हाइड्रो इनर्जीमा त हामी धनी छौँ नै, साथै अहिले पत्ता लागिरहेका खनिजहरु जस्तो युरोनियम, लिथियम जस्ता उर्जाहरु यहाँ प्रशस्त पाइने हुनाले यसलाई कब्जा गर्न पाइयो भने दुई÷चार सय बर्षका लागि उनीहरुलाई इनर्जीको खाचो हुँदैन ।त्यसैले नेपालको भुमि रणनीतिक रूपमा एकदमै महत्त्वपूर्ण छ भन्ने कुराका आधारमा पनि उनीहरुले यो स्ट्राटेजी बनाएका हुन । मैले मेरो पुस्तकमा यसबारे पनि विषयवस्तु उठान गरेको छु।

अमेरिका र भारतको अर्को मिशन भनेको बीआरआई रोने उद्येश्यले पनि उनीहरुको जोडबल छ । बीरआई के हो भन्नेबारे पनि पुस्तकमा मैले प्रस्ट्याउने प्रयत्न गरेको छु।

(‘भू–राजनीति समकालीन आयाम’ पुस्तकबारे लेखक तथा पूर्वप्राध्यापक भानु भण्डारीसँग गरिएको कुराकानीमा आधारित)