कर्ण शाक्यको ‘सफलताको सुत्र’

बुधबार, १७ असोज २०८०

काठमाडौं– तपाईंहरु सबैले सपनाको व्याख्या गर्नुभयो । अब म तपाईंलाई अनुभव सुनाउँछु । तपाईंहरुले पढेको आधारमा निबन्धहरु लेख्नुभयो । निबन्धमा पनि विदेशीहरुको उदाहरण धेरै दिनुभयो । यस्ता थुप्रै उदाहरण नेपालमा पनि छन् । यस्तो आर्टिकल लेख्दाखेरी अलिकति अध्ययन गरेर नेपालभित्रै पनि अलिखित इतिहासहरुका महानायकहरू छन् । इतिहासका नायकहरू त हामीले देखेको सुनेको छ, उनीहरू बेलाबेलामा खलनायक पनि बनेका छन् । तर यो देश अलिखित इतिहासका नायकहरूले चलाएको छ । त्यही भएर यस्ता अलिखित इतिहासका नायकहरूको कथा पनि लेखिनुपर्छ, उनीहरूको कुरा पनि सुन्नुपर्छ । हामीले उनीहरूका कथाहरूबाट पनि निकै ठूलो प्रेरणा लिन सक्छौं ।

अब म तपाईंहरूलाई सपनाको बारेमा केही कुरा भन्न गइरहेको छु । जीवनमा सफलता प्राप्त गर्नका लागि मात्र होइन, जीवन जिउनका लागि पनि सपना र विपनाको तालमेल मिलाउन जान्नुपर्छ । जुनबेलासम्म तपाईंहरूले सपना र विपनाको तालमेल मिलाउन सक्नुहुन्न त्यो बेलासम्म सपना भनेको एउटा सिद्धान्त मात्र हुन्छ । सिद्धान्तलाई यथार्थमा परिणत गर्ने हो भने सपना र विपनाको तालमेल मिलाउनसक्ने ल्याकत र तागत हुनुपर्छ । अब म तपाईंलाई एउटा कथा सुनाउँछु ।

एउटा मान्छे छ, असनको इनारमा हुर्किएको (इनार भित्रको भ्यागुतो) । जसको जीवन भनेको पूर्व हिड्यो भने भोटाहिटी, उत्तरमा गयो भने ठैटी, दक्षिण गयो भने कैटी, यता गयो भने रानीपोखरी । त्यो इनारमा हुर्किएको एउटा केटोले कहिल्यै पनि केहि सपना देखेको थिएन । उसलाई सपना नै थाहा थिएन । म के हुन्छु भन्ने कुरा नै थाहा थिएन । १४ वर्षसम्म उसलाई नेपाली बोल्न पनि आँउदैन थियो । तर पछि उसले परिश्रम गर्दागर्दौ एउटा यस्तो पुस्तक लेख्यो जुन पुरै नेपाल भरी सबै भन्दा छिटो बिक्री हुने पुस्तक बन्न सफल भयो । हामी सधैं अरुलाई मुल्याङ्कन गर्छौ । आफ्नो कमी कमजोरी देख्दैनौ, आफ्नो मुल्याङ्कन गर्दैनौं । जुन बेला हामी आफूलाई पनि हेर्छौं त्यो बेला मात्रै हामीले आफुमाथि परिवर्तन ल्याउन सक्छौं ।

नेपालमा थुप्रै सफल मान्छेहरू छन् उनीहरूको पनि विगत हेर्ने हो भने उनीहरू पनि शुन्यबाटै सुरु गरेर माथि पुगेका हुन् । जीवन नाप्ने सफलता मात्रै होइन । सफल स्वार्थी हुन्छ । जो मान्छे सफल बन्न चाहन्छ उ स्वार्थी हुन्छ । जब सफल र असलता मिसिन्छ तब मात्रै सहि रुपमा सफलता प्राप्त गर्न सकिन्छ । सफल र असल मिसिए पछि त्यो मान्छेमा आनन्द आँउछ । सफल मान्छेले खुसी किन्न सक्छ । घर किन्यो खुसी, बाइक किन्यो खुसी आदी इत्यादी किन्यो खुसी तर त्यो खुसी भित्र आनन्द हुदैंन । त्यो असल नभई खुसी भित्र आनन्द प्राप्त गर्ने सक्दैन । जीवनमा सफलमात्रै हेरेर पनि हुदैन । सफलतामा हामीले समस्या सुल्झयाउन सक्नु पर्छ । जीवनमा समस्या भनेको एकदम महत्वपूर्ण कुरा हो । हामीले समस्याको समाधान गर्न सक्यौं भने एक तहको सफल भएसकेका हुन्छौं ।

स्कुलमा पढ्दा दुई विषयमा फेल, जहिले पनि तेस्रो डिभिजन, त र ट को स्पष्ट उच्चारण नआउने । त्यो केटोले फरेस्ट्री पढ्न गएको बेला सपना हेर्यो । उसले एउटा व्यावहारिक सपना देख्यो । आफ्नो धरातलमा टेकेर सपना देख्यो । पढाई सकेर फर्किएपछि उसले नेपालको पहिलो राष्ट्रिय निकुन्ज जुन विश्वको सबैभन्दा सुन्दर छ, त्यहाँ गएर काम गर्यो । त्यतिबेलामा मलेरियाको विगविगी थियो । काम गर्दैगर्दा उसलाई ५ पटकसम्म मलेरिया लाग्यो । चितवन राष्ट्रिय निकुन्जको संरक्षक, रेखाङ्कन, सिमाङ्कनको काम सबै उसैले गर्यो । त्यो व्यक्ति म नै हो । म अर्थात कर्ण शाक्य ।

अहिले नातीहरूलाई कथा सुनाउने उमेरमा पवेश गरेको छु । मेरो भोगाईले, मेरो संघर्षले मलाई मेरा नातिहरूलाई अरुका कथा सापटी गरेर सुनाउनुपर्दैन । मैले भोगेका तिता–मिठा अनुभवहरूले गर्दा मलाई मेरा नातीहरूलाई कसैको कथाको सापट लिनु पर्दैन, तेरो बाउले यस्तो गरेको छ हेर भन्यो भने पुग्छ । जुन बेला हामीले कथा लेख्नुपर्दा अरु कसैको कथा सापट लिनु पर्दैन त्यही जीवन चाँही एकदम प्रेरणदायी जीवन हुन्छ । मैले त्यहाँ पाँच वर्ष काम गरें । त्यसपछि मेरो बुवाको देहावसन भयो । हाम्रो सुनको पसल थियो । बुवाको देहावसनपछि म सुनको काम गर्न थालें । त्यो काम मेरा लागि होइन रहेछ । मैले सुनको काम गर्न सकिन । सुन पनि पहेंलो, पित्तल पनि पहेंलो । ठम्याउनै नसकिने । त्यसपछि मैले आमासँग कुरा गरे, ‘आमा मैले सुन पसलमा काम गर्न सकिन । बिहानैदेखि काम गर्नुछ, सुन भनेर किन्न गयो पितल पर्छ । यो काम मेरा लागि रहेनछ । मलाई अरु नै केही गर्नुछ , म यो काम गदिएन ।’

मैले सुनको काम छोडेपछि समस्या आयो । समस्या आउनुपर्छ । समस्याबाट भाग्ने मान्छे भगौडा हो । त्यो सबैलाई आँउछ । त्यसलाई हिम्मतको साथ सामना गर्नुपर्छ । समस्याबाट भाग्ने मान्छे भगुवा हो । समस्यासँग जो जुध्छ त्यसैले सफलता हासिल गर्दछ । मानिसलाई प्रश्न गर्नै पर्छ, प्रश्न गर तर उत्तर छ भने । सपना हेर यदि विपना छ भने । गुनासो पोख यदी तिमीसँग विकल्प छ भने । समस्या खोतल यदी त्यसलाई समाधान गर्ने सर्मथ छ भने । नत्र प्रश्न गर्नु, सपना हेर्नु, गुनासो पोख्नु, समस्या खोतल्नुको मात्रै कुनै अर्थ छैन । जीवनको यथार्थ खोज्न मान्छेले प्रश्नको उत्तर खोज्नैपर्छ, सपनाको विपना खोज्नैपर्छ, समस्याको समाधान खोज्नैपर्छ, गुनासोको विकल्प खोज्नैपर्छ ।

आखिर केही नभएपछि मैले होटल सुरु गरें । आज भन्दा पचास वर्ष पहिले ठमेलमा स्याल कराउँथ्यो । मेरा बुवाले स्थाल कराउने ठाउँमा किनेको जग्गामा आमाले दिएको पैसाले १३ वटा कोठाको एउटा होटल बनाए । जसको नाम थियो काठमाडौं गेस्ट हाउस । मेरो आमाले संगालेर राखेको पैसा मलाई दिदा एक–एक गरेर गनेर दिनुभएको थियो । जुन बेला मेरो आमाले सपा, निपा भनेर गन्दै मेरो हातमा पैसा राख्दै जानुभयो त्यो बेला मेरो मुटुको ढुकढुकी पनि एकनासले बढ्दै गईरहेको थियो । मलाई त्यो होटल खोलेर बिग्रिएला भन्ने थिएन, थियो त मात्रै मेरो आमाले म प्रति गरेको विश्वास कायम राख्न सक्छु की सक्दिन भन्ने मात्रै । त्यो जमानामा १३ कोठाबाट शुरु गरेको होटेल अहिले ७ वटा ब्रान्चमा पुगेको छ । ७ सय कोठामा विस्तार भएको छ । ७ सय कर्मचारीले काम गर्छन् । सपना र विपनाको तालमेल मिलाउनु भनेको त्यही हो ।

मोटिभेशन भनेको यही हो । सपना देखेर मात्र हुँदैन, आफ्नो गोजी पनि छाम्नुपर्छ । यदी सपना र गोजीको तालमेल मिलेन भने, मेरो खल्तीमा कति पैसा छ भनेर हैसियत ख्याल गरिएन भने फस्ट्रेशन हुन्छ । आफ्नो खल्तीमा कति छ भन्ने हेरेर बुझेर त्यसलाई सही तरिकाले उपयोग गरेर अघि बढ्नुपर्छ । नत्र एक किसिमको मानसिक डरले हामीलाई कहिले पनि छोड्दैन । समस्या आँउछ, आईरहन्छ यसले भाग्यवानीको ढोकामात्रै खट्खटाउँछ । जो मान्छेलाई सपना, समस्याले घच्घचाउदैन जसले आजको बारेमा मात्रै सोच्छ त्यो कहिले पनि सफल हुन सक्दैन ।

मलाई फेरी अर्को समस्याले सतायो । सन १९८७ मा मेरो छोरी र श्रीमतिलाई क्यान्सर भयो । मेरो छोरी १७ बर्षको थियो । मेरो श्रीमति ३५ वर्षको । समस्या मान्छेमा आइरहनुपर्छ, समस्या भाग्यवानीको ढोकामा मात्र आउँछ । जो मान्छेलाई समस्याले घच्घच्याउँदैन नी त्यो मान्छेले ठूलो काम गर्नै सक्दैन । मेरो छोरी र श्रीमतिलाई क्यान्सर भएको बेलामा नेपालमा एउटा पनि क्यान्सरको अस्पताल थिएन, एक जना क्यान्सरको डाक्टर थिएन । अब गर्ने के ? मैले केही पनि गर्न सकिन । तीन महिना अगाडि मेरो छोरीको मृत्यु भयो, तीन महिनापछि मेरो श्रीमतिको मृत्यु भयो । मैले जन्माएको छोरीको दाहसंस्कार गर्नुपर्यो, मैले विहे गरेको श्रीमतिको मृत्यु हेरेर बस्नुपर्यो । कति पीडा भयो होला ? तपाईंहरु कल्पना गर्न पनि सक्नुहुन्न ।

तर मैले शोकलाई शक्तिमा रुपमान्तरण गरें । नेपालमा सुविधा सम्पन्न अस्पताल बनाउने सपना देखें । क्यान्सर अस्पताल बनाउने कुरा गर्दा प्रधानमन्त्रीले समेत विश्वास गरेनन् । किन भने त्यो बेलामा क्यान्सरभन्दा ठूलो क्षायरोग थियो, छाडापखालाले धेरै मान्छेहरु मरिरहेका थिए । मलाई छोरी र श्रीमति गुमाएको पीडा थियो तर राज्यलाई क्यान्सर रोगको बारेमा थाहा थिएन । प्रधानमन्त्रीले क्यान्सर अस्पताल बनाउने विषयमा इच्छा जाहेर नगरेपछि मैले विकल्प खोजे । आफ्नो सपना पुरा गर्नका लागि तेश्रो आँखा खोल्नुपर्छ भन्ने लाग्यो, मैले चौतारीमा बसेर सपना देखें । पैसा थिएन, आफ्नो सम्पत्ती बेचेर अस्पताल बनाउने अवस्थामा म थिएन । मैले धेरै सोचे । मानिसको मष्तिस्कले गहिरिएर सोच्यो भने समुन्द्र भन्दा गहिरो मन्थन गर्न सक्छ । त्यहि चौतारामा एउटा आइडिया फुर्यो । क्यान्सर गराउने मुख्य बस्तु भनेको चुरोट हो, त्यही चुरोटबाट १ प्रतिशत अन्तशुल्क उठाएर अस्पताल बनाउने । पोखराको घान्द्रुकको चौतारामा बसेको बेला मेरो दिमाखमा फुर्यो, ‘नेपालमा ५ करोड चुरोट बन्दो रहेछ । एउटा खिल्ली चुरोटबाट १ रुपैयाँ उठायो भने ५ करोड हुने रहेछ । मेरो त्यही सपनाका कारण चितवनमा साउथ एशियाकै उत्कृष्ट क्यान्सर अस्पताल बनेको छ ।

विश्वमा १ रुपैयाँ अन्तशुल्कबाट अस्पताल बनेको घटना छैन । जीवन सरल छ, तपाईंहरुले जीवनलाई जटिल नबनाउनुहोस् । जीवन भनेको साधारण गणित हो, यो विजगणित वा ज्यामिति होइन् । तपाईंले जीवनलाई साधारण बनाउन चाहानुभयो भने साधारण बन्छ । जीवन भनेको सिम्पल हुनुपर्छ, सजिजै हाँस, सजिलै जिऊ, अरुलाई पनि खुशी पार । सपना भनेको पनि त्यही हो । तपाईं पनि सफलता चाहानुहुन्छ भने राम्रो स्टाटेजी बनाउनु होस् । व्यापार गर्ने हो भनेपनि मिहिनेती हुनुहोस्, सफलता प्राप्त गर्ने खालको स्टाटेजी बनाउनु होस् । तपाईं जागिरे हो भने १० देखि ५ बजेसम्मको समयसीमा भत्काउनुहोस्, आफ्नो जिम्माको काम समयमै सम्पन्न गर्नुहोस् । अनिमात्र तपाईंको सपना साकार हुनेछ । ‘मनमा इमान्दारी, काँधमा जिम्मेवारी, दिमाखमा समझदारी’ लिएर योजना बनाउनु भयो भने तपाईं कहिल्यै असफल हुनुहुन्न । जम्मा तीनटा कुरा मनमा इमान्दारी, आफू इमान्दार भएर काम गर्नुहोस्, आफ्नो काँधमा आएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुहोस्, दिमाखलाई सचेत बनाई राख्ने गर्नुभयो भने तपाईंको सपना साकार हुनेछ, तपाईं एक सफल व्यक्तित्वको सूचीमा सूचिकृत हुनुहुनेछ ।

(मोटिभेट न्यूज डटकमले आयोजना गरेको ‘मोटिभेशनल आर्टिकल कम्पिटिशन’ मा व्यक्त विचारको संपादित अंश ।)