सामाजिक सञ्जालका कारण नेपालको शान्तिमा खलल हुने अवस्था आयोः सुदन किराती
काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालका कारण नेपालको शान्तिमा खलल हुने अवस्था आएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाललाई ठीक समयमा ठीक तरिकाले नियन्त्रण गर्न नसकिए द्वन्द्व बढेर जाने उनले बताए । नेपाल सम्वाद सम्मेलनमा बोल्दै उनले नेपालमा शान्ति कायम गर्न सामजिक सञ्जाल चुनौती रहेको बताए ।
मन्त्री किरातीले भने, ‘प्रजातन्त्रका नाममा अराजकता फैलाउन पाइँदैन । एक हातमा माला र एक हातमा भाला बोकेर सामाजिक सञ्जालमा बोल्न पाइन्न ।’
सरकारले भर्खरै टिकटकलाई केही समयका लागि प्रतिबन्ध लगाएर सामाजिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्याउन रोकेको उनको जिकिर छ । मन्त्री किरातीले बेला(बेलामा धार्मिक, सामाजिक द्वन्द्व फैलाउन खोजिएको भए पनि असफल भएको बताए ।
उनले भने, ‘अहिले पनि जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, म ठोकेर भन्छु यस पटक पनि असफल हुन्छ ।’