प्रकाण्डकै लाइनमा जीवन्त पनि, अदालतले छाड्ने प्रहरीले समात्ने क्रम सुरु
काठमाडौँ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता मोहन कार्की (जीवन्त)लाई प्रहरीले पुनः पक्राउ गरेको छ । बन्दी प्रत्यक्षीकरणको रिटको फैसला गर्दै अदालतले कार्कीलाई छाड्ने आदेश दिएको थियो ।
तर, जिल्ला प्रहरी कार्यालय, संखुवासभामा अर्को मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नु पर्ने भएकाले उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए । यस अघि नेकपाका प्रबक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पनि यसैगरि समात्ने र छोड्ने क्रम चलेको थियो ।
लामाका अनुसार उनलाई पक्राउ गरेर बुझाइदिन भन्दै संखुवासभाबाट पत्र प्राप्त भएको थियो । यसअघि उनलाई चैत पहिलो साता राज्यविरुद्धको अपराध कसुर अन्तरगत कारबाहीका लागि पक्राउ गरिएको थियो । संखुवासभामा भने उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दा अन्तरगत अनुसन्धान हुनेछ ।
सरकारले २८ फागुनमा विप्लव नेकपामाथि प्रतिबन्ध लगाएपछि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।