राष्ट्र बैंकको बोर्डलाई सेयर तथा घरजग्गा कर्जालाई सहज बनाउ अर्थमन्त्रीको निर्देशन

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं – चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रबैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक गरेका छन् । विहीवार साँझ उनले गभर्नर महाप्रसाद अधिकारीलगायत सम्पूर्ण सञ्चालक समितिलाई अर्थ मन्त्रालयमा बोलाएर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत अर्थतन्त्र चलायमान हुने व्यवस्थाहरु गर्न निर्देशन दिएका हुन् ।

‘अहिले अर्थतन्त्र समस्यामा छ । मौद्रिक नीतिमार्फत त्यसमा सुधार गर्न सकिन्छ । त्यसो हुँदा ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण, सेयर तथा घरजग्गाको ऋणलाई सहज हुने किसिमको व्यवस्था गर्न भनेको छु,’ अर्थमन्त्री डा। महतले अनलाइनखबरसँग भने ।

राष्ट्रबैंकको बोर्डमा मन्त्रालयको प्रतिनिधिका रुपमा अर्थसचिव हुने भए पनि मन्त्रालयबाट दिएको सन्देशबारे सबै बोर्ड सदस्यमा समान बुझाइ होस् भन्ने उद्देश्यले उनीहरु सबैलाई एकै ठाउँमा राखेर छलफल गरेको उनले बताए ।

अहिले सेयर धितो कर्जामा लगाइएको १५ तथा २० करोड रुपैयाँको सीमा हटाउन तथा जुनसुकै आकारको ऋणमा पनि १०० प्रतिशत मात्रै जोखिम भार राख्न अनुरोध गरेको उनले जानकारी दिए ।