श्वास नलीमा समस्या भएर उपचार गर्ने पैसा नभएपछि मण्डनदेउपुरका श्याम श्रेष्ठ सहयोग माग्दै
काभ्रे – काभ्रेको मण्डनदेउपुर – ११ स्थित जैशिथोकका ३४ वर्षीय श्याम श्रेष्ठ श्वास नलीमा समस्या भएर उपचार गराउँदै अस्पताल धाउन थालेको करिब २ वर्ष भइसकेको छ । अस्पताल धाउँदै गर्दा करिब २५ लाख जति सकिएको र उनको स्वाथ्यमा कुनै पनि सुधार नआएपछि उनीसँग यतिबेला सहयोगीसँग हात फैलाउनुको कुनै विकल्प छैन ।
श्यामका बुवा गोविन्द श्रेष्ठले भने, शुरुमा श्यामको घाँटीमा समस्या आएको थियो । सामान्य होला भनेर उनले खासै ध्यान दिएनन् । पछि पाटन अस्पतालमा चेक गर्दा समस्या जटिल भएको थाहा भयो । पाटनमा उपचार सम्भव नभएपछि उनी वि एण्ड वि अस्पताल गए । यी दुवै ठाउँमा उपचार गर्दा गर्दै उनको १५ लाख भन्दा धेरै सकियो तर समस्या झन बढी हुँदै गयो । अहिले उनी ग्राण्डी अस्पतालमा उपचाररत छन् । सो अस्पतालले अब त उनलाई नेपालमा उपचार सम्भव नभएको र यसका लागि भारत लैजानु पर्ने बताएको छ ।

श्यामको घाँटीमा अहिले प्वाल छ । श्वासनली सुकेर बोली बन्द भएको छ । थुक र खकार पनि मुखबाट आउँदैन, घाँटीमा भएको प्वालबाट बाहिर निस्कन्छ । यो जटिल समस्याको उपचार गर्न अब उनको परिवारको आर्थिक हैशियत छैन । अस्पतालका अनुसार अब बाँकी उपचारका लागि २५ लाख भन्दा वढी लाग्छ ।
यति धेरै रकम कसरी जुटाउने भनेर उनको परिवार अहिले चिन्तित छ । अहिले उनको कृतिम पाइप राखेर श्वास प्रश्वास गराइएको छ । यस्तो समस्या आएपछि उनका बाबु गोविन्द श्रेष्ठ सहयोगी दाताको खोजीमा भौंतारिइरहेका छन् । श्रीमती र २ छोराछोरी श्यामको उपचार कहिले होला भनेर बाटो हेरिरहेका छन् ।

उनको उपचारका लागि अब दयालु मन भएका दाताहरु कै सहयोगीको भर पर्नुको कुनै विकल्प छैन । कोहि मनकारी दाता भए उपचार गराउन सकिन्थ्यो कि भन्ने झिनो आशा छ उनको परिवारमा । सहयोग गर्न चाहानु हुनेले श्यामका बाबु गोविन्दको मोबाइल नं. ९८१८१३३९२७, ९८४१७५८४५५ मा सम्पर्क गर्न वा कोपिला अवालेको नाममा प्रभु विकास बैंकमा भएको खाता नं ०२१०१६०००२६००७०००००१ मा सहयोग जम्मा गर्न सकिनेछ ।