यस्तो रहेछ ‘होराइजन रिपोर्ट’को अन्तर्य

बिहिबार, २६ पौस २०८०

काठमाडौं – २०७५ सालमा एआईविटी काण्ड आयो । अस्ट्रेलियामा एआईविटी जस्ता थुप्रै कलेजहरु भएपनि एकाएक एआईविटीमा प्रहार भएपछि नेपाली विद्यार्थीको विचल्ली भयो । नेपालबाट बर्षमा २ हजारभन्दा बढी विद्यार्थी लिएको यो कलेलले विद्यार्थीलाई सुविधा पनि राम्रौ दिएको थियो । एआईविटीको सफलता देखेर आत्तिएकाहरुले केही विद्यार्थीलाई प्रयोग गरेर कलेजको बदनाम गराए ।

एआईविटी कलेज सील भएपछि नेपालीहरुले खोलेका अरु भेट कलेजहरुको व्यापार चम्कियो । यो योजनाको अन्तर्यमा थियो एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको व्यापारलाई सिध्याउने रणनीति । तर संयोगले त्यतिबेला एक्स्पर्टले उक्त कलेजमा थोरै विद्यार्थी भर्ना गरेको थियो । जसले एक्स्पर्टको नाम लिएर बदनाम गर्न खोजेका थिए ति विद्यार्थी एक्स्पर्टका थिएनन् । यो स्क्याण्डलमा बालबाल बचेको एक्स्पर्टलाई सिध्याउन अहिले ‘होराइजन रिसर्च’का नाममा नयाँ फण्डा बजारमा आएको छ ।

अहिले पनि ठ्याक्कै त्यही डिजाइनमा एक्स्पर्टको व्यापारलाई धमिल्याउन र उनीहरुले बनाएको सामाजिक प्रतिष्ठालाई समाप्त पार्न त्यही गिरोहले ‘होराइजन रिसर्च रिपोर्ट’को बहानामा षड्यन्त्र गरेको शंका गरिएको छ । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका निर्देशक संजिव शर्मा अस्ट्रेलियाको  न्यू साउथ वेल्सस्थित महावाणिज्य दूतावासको बाणिज्यदूत बन्ने प्रक्रियामा छन् । उनलाई वाणिज्यदूत बन्नबाट रोक्नका लागि केहिले ‘होराइजन रिसर्च रिपोर्ट’को नाममा नक्कली रिपोर्ट बनाएर सार्वजनिक गरेको आरोप लगाइएको छ । वाणिज्यदूत बन्न प्रतिशपर्धामा रहेकाहरुले यस्तो फण्डा गरिएको हुनसक्ने जानकारहरुको भनाई छ ।

उक्त रिपोर्टमा एक्स्पर्टले नक्कली डकुमेन्ट बनाएको, नेपाल सरकारलाई करछली गरेको, अस्ट्रेलियन हाइकमिशन नयाँ दिल्लीलाई प्रभावमा पारेको, विद्यार्थीलाई भए नभएका प्रलोभन देखाएर प्रभावित बनाएको लगायतका आरोप लगाइएको छ । एक्स्पर्टलाई मात्र प्रहार गर्दा शंकास्पद हुने भएकाले केही नाम चलेका, टिकटक लगायतका सामाजिक संजालमा राम्रो फ्लोअर्स भएका व्यवसायीलाई पनि समेटेर मनोगत रिपोर्ट तयार गरिएको छ । कुनै पनि सम्पर्क ठेगाना, सम्पर्क व्यक्ति र संस्थागत परिचयसमेत नभएको उक्त रिपोर्टलाई लिएर धेरैले विश्वास गरेका छैनन्  ।

वाणिज्यदूतका लागि १३ जनाले आवेदन दिएकोमा एक जना मात्र छनोट हुनेछन् । ‘अघिल्लो पटक एआईविटी कलेजले नेपालबाट राम्रो विद्यार्थी लिएको थियो । अस्ट्रेलियाका कलेज संचालकहरुलाई त्यो विषय सैह्य भएन । यसको मुख्य एजेण्ट एक्स्पर्ट थियो ।’, नाम उल्लेख नगर्ने सर्तमा श्रोतले भन्यो, ‘एआईविटी कलेज बन्द भएपछि उनीहरुका कलेजहरु चम्किए । त्यसले कलेजलाई समस्या भएपनि एक्स्पर्टलाई खासै असर गरेन । अहिले फेरी त्यही समूहले फेक रिपोर्ट बनाएको हो ।’

होराइजन रिसर्चको गोप्य रिपोर्टले कन्सल्टेन्सी बजारमा तरङ्ग, थुप्रै व्यवसायी फरार (रिपोर्टसहित)

सजिब शर्मा वाणिज्यदूतको पहिलो दावेदार हुन् । उनको प्रतिशपर्धामा कलेज संचालक रन्जु वाग्ले थापा, मोहन केसी, धु्रब्र कंडेल, रामकुमार श्रेष्ठ, श्री नापिक लगायत १३ जनाले आवेदन दिएका छन् । उनीहरुको आवेदन छानविन गरेर अस्ट्रेलियास्थित दूतावासले परराष्ट्र मन्त्रालयमा सिफारिस गर्ने कानूनी व्यवस्था छ । मन्त्रालयले आवेदन छानविनगरी मन्त्रीपरिषदबाट निर्णय गराएर नियुक्त गर्ने गर्दछ । वाणिज्यदूतका रुपमा नियुक्त व्यक्ति कन्सुलर क्षेत्रमा कार्यालय स्थापना गरी नेपाल सरकारको लोगो र झण्डा प्रयोग गर्न पाउँछन् । यसरी नियुक्तिका लागि सम्बन्धित देशको सिफारिससमेत चाहिन्छ ।

यसरी वाणिज्यदूतका लागि नियुक्त हुने व्यक्ति व्यापार व्यवसायमा लागेको, व्यवसाय प्रवद्धन गर्न सक्षम भएको हुनुपर्ने कानूनी प्रावधान रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुुर राइले बताए । ‘महावाणिज्यदूत, वाणिज्यदूत वा उपवाणिज्यदूत नियुक्तिका लागि पहिला सम्बन्धित देशको दूतावासमा कार्यरत राजदूतको सिफारिस चाहिन्छ । उक्त सिफारिसका साथ सम्बन्धित देशको सरकारले पनि स्वीकृत गरेको हुनुपर्छ ।’, मोटिभेट न्यूजसँगको टेलिफोन संवादमा उनले भने, ‘त्यसरी आएको सिफारिसमा मन्त्रालयले छानविन गरेर मन्त्रीपरिषदबाट निर्णय गरेर ल्याएपछि नियुक्त गरिन्छ । अस्ट्रेलियाको न्यू साउथ वेल्सको हकमा भने म अपडेट छैन । बुझेर तपाईंलाई जानकारी दिउँदा ।’

श्रोतले दिएको जानकारी अनुसार अब बस्ने मन्त्रीपरिषदले निर्णय गर्नेछ । वाणिज्यदूत नियुक्तिका लागि संजिवको सम्भावन प्रवल रहेका छ । ‘संजिव शर्मा र जनार्दन शर्मा जलविद्युतका व्यवसायीक साँझेदार हुन । जनार्दनले संजिवलाई वाणिज्यदूत बनाउन चाहेका छन् ।’, श्रोतले भन्यो, ‘अरु केहि प्रलय नभए शर्मा वाणिज्यदूत हुने निश्चित छ । त्यही भएर होराइजन रिपोर्टका नाममा फेक रिपोर्ट बनाएर रोक्न खोजिरहेका छन् । यो रिपोर्ट मनगणन्ते हो ।’ शर्माको कनेक्शन नेतृ आरजु राणासँग पनि भएकाले सम्भावन बढेको श्रोतको भनाई छ । वाणिज्यदूत नियुक्तिमा एनआरएनएका पूर्वअध्यक्ष शेषघलेको भूमिका पनि महत्वपूर्ण हुन्छ । घलेले वाग्लेलाई साथ दिने सम्भावना रहेको बताइएको छ । चितवनकी स्थानीयवासी वाग्लेले भरतपुरकी मेयर रेणु दाहालको साथ पाउने सम्भावना छ । केहि समय अघि न्यू साउथ वेल्सको वाणिज्यदूतबाट दिपक खड्काले राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि उक्त पद खाली छ ।

एक्स्पर्टले अस्ट्रेलियादेखि नेपालसम्म थुप्रै क्षेत्रमा लगानी गरेको छ । यीनीहरुको लगानीमा शैक्षिक परामर्श सेवा दिन विश्वमा ६५ वटा शाखा छन् भने अस्ट्रेलियामा तीव वटा कलेज, नेपालको चितवनमा एउटा कलेज र विभिन्न ठाउँमा हाइड्रोमा लगानी छ । पछिल्लो समय अस्ट्रेलियाले भिसा दिन छोडेपछि उनीहरु पनि गलत धन्दामा लागेका छन् । एक्स्पर्टले नेपालबाट विद्यार्थीलाई भिजिट भिसामा अस्ट्रेलिया पुर्याउने र भिसा परिवर्तन गरेर कलेजमा भर्ना गरिदिने गरेको मोटिभेट न्यूजको अनुसन्धानले भेटाएको छ । यससम्बन्धीको विस्तृत विवरण अर्को अंकमा ।