युवा संगठन नेपाल, कास्कीले तीन वटा सरकारी गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो

शनिबार, १३ माघ २०८०

पोखरा – युवा संगठन नेपाल, कास्कीले तीन वटा सरकारी गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । शनिबार सार्वजनिक बिदाको दिनमा अनुमतिविना सार्वजनिक सवारीको दुरुपयोग गरेको भन्दै विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन कास्कीले तीन वटा सरकारी गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

संगठनले पत्रकार र स्थानीयको रोहबरमा ट्राफिक प्रहरीलाई गाडी बुझाएको छ । कास्कीको विभिन्न तीन स्थान हेम्जा, बगर र पृथ्वीचोकमा चलाएको अभियानमध्य हेम्जामा सरकारी वकिल कार्यालय बागलुङ को बा २ झ २६९६ नम्बरको गाडी र पोखरा सीमपानीबाट जिल्ला शिक्षा समन्वय कार्यालयको बिएए ९१७६ नम्बरको गाडी र पोखरा पृथ्वीचोकबाट यातायात व्यवस्था कार्यालय कास्कीको बिएए ०५५३ नम्बरको गाडीलाई नियन्त्रणमा लिएर बुझाएको हो ।

जसमध्ये सरकारी वकिल कार्यालय बागलुङ र जिल्ला शिक्षा समन्वय कार्यालय कास्कीको गाडीले पास लिएको तथा यातायात व्यवस्था कार्यालय कास्कीको गाडीले पाससमेत नलिएको पाइएको युवा नेता युवराज सीले बताए । युवा सङ्गठन नेपालको यस्तो प्रकारको सार्वजनिक महत्त्वको अभियान राम्रो भएको स्थानीयहरुको प्रतिक्रिया रहेको जिल्ला अध्यक्ष महेन्द्र सीले बताए ।

यातायात व्यवस्था कार्यालय कास्कीको गाडीलाई नियन्त्रण स्थलबाट ट्राफिक प्रहरीले नै चलाएर ट्राफिक कार्यालयसम्म पुर्याएको थियो । अब आफ्नो युवा सङ्गठनले जनताको पक्षमा निरन्तर अप्रेसन चलाउने पश्चिम कास्की सेक्रेटरी परिवर्तनले जानकारी दिए ।