नकारात्मक टिप्पणीलाई वास्ता नगर

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं – एक समय भ्यागुताहरूले जंगलको सबैभन्दा अग्लो रुख चढ्ने प्रतियोगिता आयोजना गरे । दर्जनौँ भ्यागुताले प्रतियोगितामा भाग लिएका थिए र प्रतियोगिता हेर्न वरपरका सबैजसो भ्यागुताहरू भेला भएका थिए ।

रुख अग्लो र मास्तिरको भाग सीधा परेको थियो । खेल हेर्न आउनेमध्ये धेरैलाई कोही पनि टुप्पोमा पुग्न सक्छ भन्ने विश्वास थिएन । तर पनि सबैजना कुन भ्यागुता कति माथि पुग्ला भन्ने हेर्न उत्सुक थिए । प्रतियोगिता सुरु भयो र भ्यागुता रुख चढ्न लागे । तल हेर्न बस्नेहरू चर्को स्वरमा हुटिङ गरिरहेका थिए । उचाइ बढ्दै जाँदा प्रतियोगी भ्यागुता खस्न थाले ।

यसै क्रममा तलको भिडबाट एउटाले चर्को स्वरमा भन्यो, ‘कोही पनि रुखको टुप्पोमा पुग्न सक्दैन । यो धेरै नै अग्लो छ ।’ धेरैले हो मा हो मिलाए । बिस्तारै प्रतियोगी भ्यागुता खस्ने क्रम बढ्न थाल्यो । तर, केही भ्यागुता भने रुखको माझ भागबाट मास्तिर लागिसकेका थिए । तलबाट चर्को स्वर आइरहेको थियो, ‘अब बाँकी पनि खस्छन् । कोही पनि टुप्पोमा पुग्नै सक्दैन ।’ सीधा भागबाट अघि बढ्ने क्रममा प्रतियोगी भ्यागुता एकपछि अर्को खस्न थाले ।

अब जम्मा एउटा प्रतियोगी मात्र बाँकी रह्यो । ऊ निरन्तर अघि बढिरह्यो । तलबाट अविश्वासको स्वर पनि बढिरहेको थियो । तर, ऊ अघि बढिरह्यो र अन्ततः टुप्पोमा पुगिछाड्यो । विजयी भ्यागुतो तल आएपछि सबैजना उसको जितको रहस्य जान्न इच्छुक भए । सबैले असम्भव ठानेका कार्यका लागि उसले के बल, बुद्ध प्रयोग गरेको थियो भनेर जान्न चाहनु स्वाभाविक हो ।

बुझ्दा विजयी भ्यागुतो बहिरो रहेछ । खस्ने धेरै भ्यागुता तल भिडले भनिरहेको नकारात्मक टिप्पणी सुनेरै खसेका थिए । यसैले तिनै सफल हुन्छन्, जो आफ्नो क्षमताप्रति व्यक्त गरिएका नकारात्मक टिप्पणीलाई बेवास्ता गर्न सक्छन् ।