पोस्टमार्टम रिपोर्ट आएपछि शालिनका बुबा आक्रामक, गरे यस्तो घोषणा
काठमाडौं – शालिन पोखरेल मृत्यु प्रकरणलाई लिएर उनका बुबा आक्रामक बनेका छन् । उनको बुबाले आज तयार भएको पोष्टमार्टम रिपोर्ट अस्वीकार गर्ने घोषणा गरेका छन् ।
अपराधी र दोषीहरुलाई उन्मुक्ति दिन षड्यन्त्रपूर्वक पोस्टमार्टमा रिर्पोट तयार पारिएको भन्दै शालिनका बुबाले रिपोर्ट स्वीकार गरेका हुन् । ‘म अहिले टिचिङ मै छु । रिर्पोटको हार्डकपी पाएको छैन ।’, शालिनका बुवा ललित पोखरेल (दिपेन्द्र)ले भने, ‘अस्पातालले मौखिक रुपमा जानकारी दियो, मैले बुझिसकेँ । यहाँ अपराधीहरुलाई बचाउन हाइलेबलको गेम सुरु भइरहेको छ ।’
शालिनको शवबाटै बलात्कार र हत्या हो भन्ने कुरा झल्किएको उनले बताए । –नानीको थाइमा निल डाम छ । गुप्तागंमा घाउ छ । मेरै आँखाले यो दृश्य देख्दा देख्दै पनि कसरी सुसाइड हुन्छ ?’, आक्रोशित हुँदै उनले प्रश्न गरे । छोरीको न्यायको लागि अन्तिमसम्म लड्ने अठोट सुनाउँदै पोखरेलले भने, ‘मलाई केही छैन । कसैले मार्छ भने मारुन् तर छोरीको आत्मालाई शान्ति नदिलाएसम्म म पछि हट्दिन् ।’
गोरखाको अजिरकोट स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ्ग स्कुलको होस्टलमा बसेर अध्ययनरत १४ वर्षीय शालिनको फागुन १२ गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो । घटनालगत्तै सोही दिन विद्यालयका प्राचार्यसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिइएकोमा प्रहरीले आनाकानी गरेको भन्दै पीडित परिवारले घटना शंकास्पद रहेको दावी गरिरहेको छ ।
तर, कतिपयले भने पारिवारिक कलहका कारण किशोरीले आत्महत्या गरेको बताइरहेका छन् । सम्बन्ध बिच्छेद गरेका शालिनका बाबु(आमा दुबै नयाँ घरजम गरेर बसिरहेका छन् । उनलाई भने सानैदेखि होस्टेलमा राखिएको थियो । परिवारले आशंका गरेकै कारण भरतपुर अस्पातलमा पोष्टमार्टम नगराई शव त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । तर, अस्पतालले आज दिएको रिपोर्टमा शालिनको बलात्कार नभएको पुष्टि गरिएको छ । रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ लेखिएको छ।