सुनको भाउले कायम गर्यो नयाँ ऐतिहासिक रेकर्ड
काठमाडौँ – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
यसअघि गत पुस १२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढी हो।
अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।