राजपाका दुईजना केन्द्रीय सदस्य किर्तेधारी, प्रहरी लगायो हतकडी !

बिहिबार, ५ बैशाख २०७६

राजविराज । सरकारी छाप कीर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य समातिएका छन् । पूर्व सांसद समेत रहेका बिपी यादव र केन्द्रीय सदस्य हरिनारायण मण्डललाई प्रहरीले बिहिबार नियन्त्रणमा लिएको हो । यादव पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सभासद् थिए। उनी रातो पासपोर्ट काण्डमा समेत मुछिएका थिए।

यादव र मण्डलसहितको संलग्नतमा अग्निसाइर कृष्णसवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप कीर्ते गरिएको प्रहरीको दाबी छ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी राजेन्द्र विष्टले बताए।  प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको रकम निकाल्न कीर्ते उपझोक्ता समिति गठन गर्न छाप कीर्ते गरिएको जनाइएको छ।

योजनाको २५ लाख रुपैयाँ निकाल्न कीर्ते समितिमार्फत बैंक खातासमेत सञ्चालनमा ल्याइएको बुझिएको छ।