आर्थिक संकट र मिडियामा परेको दुस्प्रभावबारे विराटनगरमा सञ्चार विमर्श
विराटनगर-आर्थिक संकटले समाजका सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको बेला यसले आमसञ्चारमा पारेको दुस्प्रभावबारे बिराटनगरमा सरोकारवालाहरुबीच बिमर्श भएको छ । जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिले बिमर्शको आयोजना गरेको हो।
आर्थिक संकट र त्यसले छापा, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा पारेको नकारात्मक प्रभावको समाधान गर्न राज्यलाई उत्तरदायी र जवाफदेही बनाउन दबाब सिर्जना गर्ने उदेश्यले आयोजित अन्तर्कृयामा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले अहिलेको आर्थिक संकटले मिडियामा निकै नकारात्मक प्रभाव पारेको भन्दै समस्या सम्बोधनमा सरोकारवालाहरुबीच साझा मुद्दामा सहकार्य गर्नुपर्ने बेला आएको बताए । मन्तव्यको क्रममा नेता अनिलले देशमा आर्थिक संकटको मुख्य कारण उदारवाद र भारत परिबेष्ठित अर्थतन्त्र नै भएकोले यसको निकासका लागि व्यापार विविधीकरण र अन्तरास्ट्रिय व्यापारमा चीनसँगको पारबहनको व्यवस्था हुनुपर्ने बताए।
जनपत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष शेरबहादुर विश्वकर्माले श्रमजीवी पत्रकार ऐन२०५१ आएको ३० बर्षपछि पनि ऐनको कार्यान्वयन हुन नसकेको, सञ्चार माध्यमको अहिलेको आवश्यकता अनुसार नयाँ कानुन निर्माण हुन नसकेको र संकटमा मिडिया बचाउन राज्य गैरजिम्मेवार भएको बताए।
कार्यक्रममा उध्योग बार्णिज्य संघ मोरङका अध्यक्ष राकेश सुराना,मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, प्रेस सेन्टरका अर्जुन आचार्य, वानका अध्यक्ष अरबिन्द्र मेहता, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष मोहन भट्टराई, अधिबक्ता कला त्रिताल लगाएतका वक्ताहरूले सम्बोधन गरेका थिए।
अन्तर्कृयामा नेकपा पोलिटब्युरो सदस्य दिपेश सी, नेताहरु संगित,डिबी सी,त्रिलोचन सी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन शोभराज बरालले गरेका थिए भने जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य प्रविण अधिकारीले मन्तव्यद्वारा स्वागत गरेका थिए।





