समाजवादी मोर्चालाई टक्कर दिन सुरु भयो कांग्रेसमा लोकतान्त्रिक मोर्चाको बहस

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौँ – नयाँ सत्ता गठबन्धनको आयुबारे सकारात्मक चर्चा नभइरहेका बेला गठबन्धनमा विग्रह पर्खेको कांग्रेसभित्र लोकतान्त्रिक तथा प्रजातान्त्रिक शक्तिहरूलाई समेटेर अगाडि बढ्नुपर्ने बहस चल्न थालेको हो ।

सके अहिलेकै गठबन्धनमा फाटो ल्याएर फेरि बहुमतका लागि फ्लोर ओपन गर्ने, नभए वैकल्पिक गठबन्धनसम्म पुग्नेगरी प्रजातान्त्रिक शक्तिहरूलाई एकजुट बनाउनुपर्ने आवाज उठेको हो ।

अहिलेको सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सबै कम्युनिस्ट र यसै पृष्ठभूमिका हुन् । यीबाहेक गत निर्वाचनबाट उदाएको चौथो ठूलो दल रास्वपा निर्णायक भएकाले नै यो गठबन्धनमा समेटिएको छ ।

कांग्रेसले पनि आफूसहित राप्रपा, लोसपा, जनमत पार्टीलाई लिएर वैकल्पिक लोकतान्त्रिक मोर्चाको कसरत आवश्यक ठानेको नेताहरू बताउँछन् । एकातिर कम्युनिस्ट दलको मोर्चा बन्दै गर्दा सत्ताबाहेकका दलसँग एकाकार भएर थप दबाब बढाउन सकिने बुझाइ कांग्रेस नेताहरूको देखिएको छ  ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले  लोकतान्त्रिक शक्तिबीच सहकार्य मात्रै होइन, धेरै कुराको आवश्यकता भएको बताउँनुले पनि यसको पुष्टि गर्छ ।

‘हामी गठबन्धनप्रति इमान्दार हुँदाहुँदै फेरिएको समीकरणपछि नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा छौं । तत्काल कुनै मार्चाबन्दीकै तयारी त छैन, तर विचार मिल्नेसँग अगाडि बढ्नुपर्छ भन्ने पाठ हामीलाई भएको छ । यस्तो आवश्यकता महसूस भएको विषय उठेका छन्,’ महतले भने, ‘प्रारम्भिक अवस्थामा केही छलफल र संवाद भएका छन् । परिस्थितिलाई मूल्यांकन गरेर समयानुकूल निर्णय गर्दै कांग्रेस अगाडि बढ्छ ।’

‘हामी गठबन्धनप्रति इमान्दार हुँदाहुँदै फेरिएको समीकरणपछि नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा छौं । तत्काल कुनै मार्चाबन्दीकै तयारी त छैन, तर विचार मिल्नेसँग अगाडि बढ्नुपर्छ भन्ने पाठ हामीलाई भएको छ । यस्तो आवश्यकता महसूस भएको विषय उठेका छन्,’ उनले भने,  ‘प्रारम्भिक अवस्थामा केही छलफल र संवाद भएका छन् । परिस्थितिलाई मूल्यांकन गरेर समयानुकूल निर्णय गर्दै कांग्रेस अगाडि बढ्छ ।’

पार्टीको आगामी केन्द्रीय समिति बैठकमा नेताहरूको भावना सुनेपछि मोर्चाबन्दीबारे कांग्रेसले एउटा निर्णय लिने महत बताउँछन्   ।

माओवादीले धोका दिएर समीकरण फेरिएलगत्तैदेखि कांग्रेसले राप्रपा, नेकपा एस, लोसपा, जनमतदेखि नागरिक उन्मुक्तिसहितका दलसँग छलफल गरेको थियो । त्यसपछि पनि कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रजातन्त्रवादीलाई समेट्न सभापतिलाई सुझाव नै दिएको थियो ।