माओवादी छोडेका लिम्बूलाई इलाम–२ मा रास्वपाले उम्मेदवार बनाउँने निश्चित
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ।यद्यपि यसको घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने तयारी गरेका छन्। रास्वपाका एक नेताले दिएको जानकारीअनुसार प्राइमरी भोटिङमा मिलन लिम्बूको पनि नाम छ।
लिम्बू र अर्का दुई जनाले पनि उम्मेदवारी दर्ता गरेका छन्। यद्यपि नाम सार्वजनिक गरिएको छैन। ‘प्राइमरी इलेक्सनको घोषणा गरेर उम्मेदवारी दर्ता गराएकाले यसको प्रक्रिया पुर्याउनुपर्ने हुन्छ,’ एक नेताले भने, ‘तर हाम्रो उम्मेदवार मिलन लिम्बू नै हो।’
उम्मेदवार घोषणाका लागि चैत १६ गते पार्टी सभापति लामिछाने इलाम जाँदैछन्। पत्रकारिता पृष्ठभूमिका लिम्बू माओवादी केन्द्रका कार्यकर्तासमेत थिए। तर उनले माओवादी केन्द्रसँगको आबद्धता त्याग्दै स्वतन्त्र उम्मेदवार घोषणा गरेका थिए।
त्यसपछि उनीसँग संवाद भएको र पार्टीले उम्मेदवार बनाउने तयारी गरेको रास्वपाका एक नेताले बताए।