गठबन्धन दलहरूको आ–आफ्नै लुछाचुडीले प्रदेश सरकारको भागबन्डामा किचलो
काठमाडौँ – सत्ता समीकरण बदलिएको एक महिना पुग्न लाग्दासमेत प्रदेश सरकारको भागबन्डामा गठबन्धन दलहरूबिच सहमति जुटेको छैन । सत्ता घटक एमाले, माओवादी र एकीकृत समाजवादीका आ–आफ्ना अडानले सहमति जुट्न नसकेको हो । यद्यपि शीर्ष नेताहरूले सहमति नजिक पुगेको दाबी गरेका छन् ।
चैत १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले, माओवादी र एकीकृत समाजवादीको शीर्ष नेता सम्मिलित बैठकमा सिट बाँडफाँट सम्बन्धमा छलफल गरेका थिए । सोही दिन माओवादी केन्द्रको बागमती प्रदेश बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले मंगलबार (१३ गते) सम्म प्रदेश भागबन्डा टुङ्ग्याउने बताएका थिए ।
सिट बाँडफाँटको विषयमा चैत १३ गते प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबिच बालुवाटारमा करिब एक घण्टा छलफल भएको थियो । तर सिट बाँडफाँटमा कुनै सहमति नभएको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बताएका छन् ।
बुधबार बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रदेश तहको भागबन्डामा दलहरूबिच छलफल भइरहेकाले कुनै सहमति नभएको ब्रिफिङ गरेका थिए ।
बिहीबारसम्म भागबन्डा टुङ्गो लगाउने भनिए पनि एमालेका अध्यक्ष केपी ओली गृह जिल्ला झापा पुगेकाले सहमति हुने सम्भावना देखिएको छैन । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कोशी र कर्णालीबाहेक अन्यमा समस्या नभएको दाबी गरे । अध्यक्ष ओली काठमाडौँ फर्किएपछि शुक्रबारसम्म सहमति हुन सक्ने उनको अनुमान छ ।
कर्णालीमा माओवादीको दाबीलाई आन्तरिक समस्या भएको उनको तर्क छ । ‘कोशीमा संवैधानिक सङ्कट आउने देखिन्छ । त्यहाँ मध्यावधिको विकल्प सुनिश्चित गरेरमात्र नेतृत्व फेरबदल गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘कर्णालीमा माओवादीले दाबी गरिरहेको छ । त्यहाँ समस्या देखिएको छ । अहिलेसम्म एमालेले कोशी, गण्डकी र कर्णालीमा लिने गरी सहमति नजिक पुगेका छौँ ।’
बालुवाटार स्रोतका अनुसार माओवादीले बागमती र कर्णाली प्रदेशमा अहिलेकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने अडानमा छ । कोशी, गण्डकी, लुम्बिनी एमालेलाई दिन माओवादी तयार देखिएको छ । सरकारलाई थप बलियो बनाउन मधेस जसपा र सुदूरपश्चिमको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिन माओवादी तयार देखिएको छ । तर कर्णाली प्रदेशलाई एमालेले प्रतिष्ठाको विषय बनाएकाले समस्या देखिएको छ ।
माओवादीका उपमहासचिव जनार्दन शर्माले कर्णाली एमालेलाई छाड्न नसक्ने अडान लिएका छन् । बुधबार बसेको पदाधिकारी बैठकमा उनले कर्णाली सरकारको नेतृत्व छाड्न नसक्ने अडान लिएका हुन् ।