मेयर बालेनको आलोचना गर्नेलाई पाँच वर्ष कैद माग
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आलोचना गर्नेविरुद्ध मुद्धा दायर भएको छ । फेसबुक स्ट्याटस लेखेका एक कर्मचारीविरुद्ध पाँच वर्ष कैद सजाय हुने विद्युतीय कारोबार सम्बन्धी मुद्दा दायर भएको हो । सरकारी वकिल कार्यालयले काठमाडौं महानगरपालिकाका निलम्बित कर्मचारी रामप्रसाद पौडेललाई विद्युतीय कारोबार सम्बन्धी मुद्दा दायर गरेको हो।
जिल्ला सरकारी वकिलले चैत २० मा दर्ता गरेको अभियोगपत्रमा मेयर शाहमाथि घृणा वा द्वेष फैलाउनुका साथै महानगर र त्यसको नेतृत्वप्रति आमनागरिकमा भ्रम सिर्जना गरेको आरोप पौडेललाई लगाइएको छ। फेसबुक पोस्टमार्फत यस्तो कार्य गरेकाले उनलाई पाँच वर्षसम्म सजाय गर्न माग गरिएको छ।
काठमाडौं सरकारी वकिलको अभियोगपत्रमा उल्लेख भएअनुसार पौडेलले आफ्नो फेसबुकमा दुइटा स्ट्याटस लेखेका थिए । पोखरेलले जाहेरी दिएको ३५ दिनअघि उक्त स्ट्याटस लेखेर पौडेलले डिलिटसमेत गरिसकेका थिए। पौडेलको पहिलो पोस्टमा लेखिएको छ, ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र निजहरूले दुई वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ । यो नगरवासीले तिरेको कर हो ।’
दोस्रो पोस्ट छ, ‘उनको नियत नै रहेछ, उटपट्याङ काम गरिरहौं, आखिर म त लोकप्रिय हुन्छु ?? अरू ३ करोड नेपालीलाई सामाजिक सञ्जालबाट मूर्ख बनाउँछु।’ यी दुई पोस्ट सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री भएको काठमाडौं जिल्ला सरकारी वकिलको ठहर छ। यी दुई पोस्टले कसरी सार्वजनिक नैतिकता र शिष्टाचारलाई गम्भीर असर गरेको छ भन्ने अभियोगपत्रमा खुलाइएको छैन। न ती पोस्टले कसरी मेयर बालेन र महानगरविरूद्ध भ्रम फैलाए भन्ने व्याख्या छ। पौडेलले लगाएका आरोप मिथ्या कसरी हुन् भन्ने कुरासमेत अभियोगपत्रले प्रस्ट पारेको छैन।