हमासको कब्जामा रहेका विपिन जोशीबारे प्रचण्डले गरे सीरीएस कुरा

आइतबार, ९ बैशाख २०८१

काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे ।

“सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे ।

“अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।”

हमासले इजरायलमा गरेको आक्रमणमा बेपत्ता रहेका विपिन जोशीको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको छ ।