सुदूरपश्चिममा गठबन्धनको एक सांसद थपिएसंगै मुख्यमन्त्री सोडारीले गरे यस्तो तयारी

मंगलबार, १८ बैशाख २०८१

काठमाडौँ – बझाङ उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्री मण्डल विस्तारको तयारीमा जुटेका छन् । उपनिर्वाचनको मत परिणामपछि मात्र निर्णय गर्ने अडानमा बसेको नेकपा एमालेले निर्वाचन जितेसँगै मुख्यमन्त्री सोडारी मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन् ।

यसअघि एमालेले बझाङ उपनिर्वाचनमा जितेमा सरकारमा जाने नभए बाहिरबाट सहयोग गर्ने बताएको थियो । निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी जितेसँगै मुख्यमन्त्री सोडारीले आज सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

बैठक ११ बजे बस्ने भनिएको छ । बैठकमा सरकार विस्तार, भागबण्डा र विश्वासको मत लिने विषयमा छलफल हुने माओवादी केन्द्रको संसदीय दलका उपनेता अक्कल रावलले जानकारी दिए ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट आज नै एक मन्त्री थप्ने सम्भावना रहेको उपनेता रावलको भनाइ छ । नाउपाबाट टीका थापालाई मन्त्री बनाइने सम्भावना छ । तर मन्त्रालय भने गठबन्धनको बैठकबाट मात्र तय हुने उनले बताए ।