प्रधानमन्त्रीलाई भेटेपछि कांग्रेस नेताहरु उत्साहित, के भयो सहमति ?

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं – नेपाली कांग्रेसले संसद अवरुद्ध खुलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कांग्रेसले सदन खुलाउन सकारात्मक भएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री दाहालसँगको भेटमा प्रधानमन्त्रीले आज संघीय संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएकाले संसद अवरोध नगरिदिन अनुरोध गरेका थिए । प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानको लागि पहल गरिरहेको आश्वासन दिएपछि कांग्रेस अवरुद्ध सदन खुलाउन सकारात्मक भएको प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रधानमन्त्रीसँग छलफलपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेको अनुरोधको विषयमा संसदीय दलको बैठक बसेर निस्कर्षमा पुग्ने उनले बताए । उनले भने,’ प्रधानमन्त्रीले बोलाउनुभएको थियो । प्रधानमन्त्रीले मुलत दुई वटा कुरा भन्नुभएको छ। एउटा कुरा उहाँले जुन समस्या छ सहकारी ठगीको समस्या मैले पुरै कोशिस गरिराखेको छ । समाधान गर्छु भन्नुभएको छ ।’

उनले अगाडि भने, ‘आज संघीय संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन हुने भएकाले राष्ट्रपतिको सम्बोधनलाई तपाईहरुले अवरोध नगरीदिनुपर्यौ । म समस्या समाधानको लागि परेको उहाँले भन्नुभएको छ । हामीले उहाँले भनेको कुरालाई संसदीय दलको बैठकमा छलफल गरेर हामी निस्कर्ष र निर्णयमा पुग्छौं भनेर भनेका छौं । नेपाली का्रग्रेसले राष्ट्रपतिको सम्बोधनलाई अवरोध व्यवधान नगर्न सहयोग गर्नुहोस् भन्नुभयो । अर्को समस्या समाधानको लागि छलफल गर्छु भन्ने उहाँको अभिप्राय देखिन्छ । हामी यसलाई व्यवहारमा देख्न चाहान्छौं ।’