बलात्कारीबाट मात्रै होइन, न्यायालयबाट पनि छोरीहरू जोगाऔँ : अधिवक्ता मोहना अन्सारी

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं – अधिवक्ता मोहना अन्सारीले न्यायलयबाट पनि छोरीलाई बचाउनुपर्ने बताएकी छन् । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने पाटन उच्च अदालतको फैसलाप्रति आपत्ति जनाउँदै अन्सारीले अदातलबाट पनि छोरीलाई जोगाउनु पर्ने बताएकी हुन् ।

उच्च अदालत पाटनको फैसलामा आपत्ति जनाउँदै अधिवक्ता अन्सारीले छोरीलाई बलात्कारीबाट मात्रै नभएर न्यायलयबाट पनि बचाउनुपर्ने आशयको प्रकट गरेकी हुन् । अधिवक्ता अन्सारीले एउटा पोस्ट सेयर गर्दै सन्दीपलाई लेखेकी छन्, ‘बलात्कारीबाट मात्रै होइन, न्यायालयबाट पनि छोरीहरू जोगाऔँ ।’

अधिवक्ता अन्सारी सन्दीलाई बलात्कार मुद्दा लगाएकी नुवाकोटकी गौशाला –२६ नामकी युवतीको तर्फबाट कानुन व्यवसायी पनि थिइन् । तर उच्च अदालतले उनी पक्ष रहेको पीडित भनिएकी युवतीको विपक्षमा फैसला सुनाएसँगै अन्सारीले तीव्र असन्तुष्टि जनाएकी हुन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी उनले धेरैले सुन्दै आएको न्यायको अपराध अझै हेर्न बाँकी रहेको उल्लेख गरेकी छन् । ‘यस्तो समाज, यस्तो परिदृश्यको भागिदार बन्नुपर्ला भनेर कहिल्यै सोचिएको थिएन । यो स्तरको समाजको पतन, अदालतमा निर्लज्जताको नाङ्गो नाच’, मोहनाले सेयर गरेको पोस्टमा भनिएको छ ।