रविको पक्षमा खम्बा झैँ उभिएका प्रचण्ड कांग्रेसका कारण परे यस्तो परिबन्धमा
काठमाडौं – संसद् गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल थालेका छन् । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै नेपाली कांग्रेसले लगातार संसद् अवरोध गर्दै आएको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले उनीविरुद्ध संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग गरिरहेको छ । सत्तारुढ दलहरुले भने कांग्रेसले माग गरेको व्यक्तिलक्षित संसदीय समिति बन्न नसक्ने बताइरहेका छन् ।
सम्पूर्ण सहकारीको समस्या समाधान हुनेगरी संसदीय समिति वा उच्चस्तरीय समिति बनाउनुपर्ने अडानमा सत्तारुढ दलहरु रहेका छन् । कांग्रेसभने सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीमाथि मात्रै संसदीय समिति बन्नुपर्ने पक्षमा छ ।