ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
काठमाडौं – लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरिएको हो । तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको हो ।
गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । ‘त्यो लागूऔषध सेवनकर्ताहरुको अखडा जस्तो ठाउँ रहेछ, त्यहीँ घिमिरे पनि गएका रहेछन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनी मोटरसाइकलमा त्यहाँसम्म गएको देखिन्छ, त्यसपछि परियारसहितको समूहले उनको हत्या गरेको देखिएको छ ।’ उनलाई इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । ‘तर, बयान र सोधपुछपछि ६ जनाको संलग्नता खुलेको छ’, ती अधिकृतले भने, ‘थपको संलग्नता पुष्टि नभए छाडिनेछ ।’ प्रहरीले यसबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । स्रोतका अनुसार, प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत् रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । घिमिरेले समेत लागूऔषध गाँजा सेवन गर्ने गरेको पक्राउ परेकाले दाबी गरेका छन् ।