विश्वलाई नै त्रसित पार्नेगरि युद्ध आतंक मच्चाइरहेका इजरायल र हमासबिरुद्ध हेगमा पुग्यो मुद्दा
काठमाडौं । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै मुद्दा परेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, रक्षामन्त्री योआब गालान्त र हमासका तीन शीर्ष नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा परेको हो ।
आईसीसीमा मुद्दा दायर गर्दै करिम खानले इजरायल सरकार र विद्रोही हमास दुवै पक्षमाथि इजरायल र गाजा क्षेत्रमा मानवताविरुद्ध युद्ध अपराध गरेको आरोप लगाएका छन् ।
सोमबार विज्ञप्ति जारी गरी खानले भनेका छन्, ‘सात महिनादेखि जारी युद्धले उनीहरूविरुद्ध वारेन्ट जारी गर्ने पर्याप्त आधार दिएको छ ।’ उनका अनुसार गाजामा गरिएको आक्रमणको क्रममा आम जनतालाई भोकै राख्नु र उनीहरुलाई जानीजानी मार्नु युद्ध अपराधको श्रेणीमा पर्दछ ।
यसैगरी हमासका प्रमुख याह्या सिनवार, सैन्य विभागका कमाण्डर इन चिफ मोहम्मद अल मसरी र हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हानिएविरुद्ध पनि वारेन्ट जारी गर्न माग गरिएको छ । उनीहरूमाथि पनि इजरायलका सर्वसाधारणको हत्या, बलात्कार र बन्धक बनाएर यातना दिएको आरोप छ ।हेग अदालतका न्यायाधीशहरूको टोलीले उजुरीमाथि प्रारम्भिक सुनुवाइ गरी वारेन्ट जारी गर्ने पर्याप्त आधार र प्रमाण छ कि छैन भन्ने यकिन गर्नेछन् ।
इजरायल र हमासका नेताहरूले भने युद्ध अपराधको आरोपको खण्डन गरेका छन् । इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गात्जले आतंकवादीहरूबाट भइरहेको आक्रमणको प्रतिरक्षा मात्र गरेको जिकीर गरेका छन् । हमासका वरिष्ठ नेता सामु अबु जुहारीले पक्राउ गर्नुपर्ने मागलाई पीडित र जल्लादलाई एउटै तराजुमा राख्नेखालको कदम भनेर आलोचना गरेका छन् ।
नेदरल्याण्डको शहर द हेगमा अवस्थित अन्तर्राष्ट्रिय अपराध अदालतका १२४ देश सदस्य छन् । इजरायल र उसको मुख्य सहयोगी अमेरिका भने यसको सदस्य छैनन् । चीन र रूस पनि यसमा सदस्य छैनन् ।