नेकपा सुदुरपश्चिमद्वारा अर्थमन्त्रीलाई ९ बुदे ज्ञापनपत्र

बुधबार, ९ जेष्ठ २०८१

धनगढी – नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितिले अर्थमन्त्रीलाई ९ बुदे ज्ञापनपत्र पेश गरेको छ।बुधबार अर्थमन्त्रीका स्वकीय सचीव भुपाल शाक्य मार्फत सुदुरपश्चिमका बिकास निर्माणका समसामयिक बिषयमा माग पत्र पेश गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी ञरण्बीरझ, पोलिट ब्युरो सदस्य विकल्प सी, केन्द्रिय सदस्य एवम् सभासद डबल बहादुर सी, केन्द्रिय सदस्यहरु समर सी, मिना सी, प्रकाश सी र दर्शन सी सहितको हस्ताक्षरित ज्ञापनपत्रमा आगामी आर्थिक बर्षमा सुदुरपश्चिमका बिकास निर्माणमा सरकारले बजेटको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

९ बुदे ज्ञापनपत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०८० पारित हुनुपर्ने,सेती लोकमार्ग र महाकाली करिडोर निर्माणको काममा तीव्रता दिनुपर्ने,कैलालीको पहलमानपुरमा अवस्थित ३ हजार मेट्रीक टन क्षमताको सुदुरपश्चिम शीतगृह संरक्षण गरिनुपर्ने, खप्तड, बडिमालिका,रामारोशन र अपि साइपाल जस्ता पर्यटकीय क्षेत्रको पुर्बाधार निर्माण गरिनुपर्ने,चिसापानी ( राजकाडा केवलकार निर्माणमा स्थानीय जनताको शेयर सुनिश्चितता गरिनुपर्ने, पश्चिम सेती, बुढीगङ्गा हाइड्रो र बेतन कर्णालीको काममा गति प्रदान गरिनुपर्ने माग गरिएको छ।

त्यस्तै,कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका भुमिहिन सुकुम्बासीको बैकल्पिक व्यवस्था नगरी विस्थापित गर्न रोक्नुपर्ने, दलितमाथिको भेदभाव र छुवाछूत उन्मुलन गर्न, महिला र थारु समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने र सरकारले योजनाहरुको छनौट र बजेट बिनियोजन गर्दा राजनीतिक शक्तिका आधारमा गरिने भागबण्डा रोक्नुपर्ने लगायतका माग गरिएको छ।