प्रचण्ड ओलीसँग नजिक भएको एक महिनामै पर्यो सिके राउतलाई चिठ्ठा
काठमाडौँ – सत्ता गठबन्धनमा जोडिएको एक महिना नपुग्दै मधेसमा सिके राउतको जनमत पार्टीलाई चिठ्ठा परेको छ । आज बसेको गठबन्धनका नेताहरुको बैठकले मद्येशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति भएपछि चिठ्ठा परेको हो ।
मधेसको सबै भन्दा ठूलो दल नेकपा एमाले, जनमत र माओवादी केन्द्रबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
झमधेश प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्ट्राचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज मिति २०८१र०२र१७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लोकतान्त्रिक समादबादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) दलको सहभागितामा नयाँ संयुक्त मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको पत्रमा लेखिएको छ ।
सरकारमा सहभागी भएका दलहरुका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रकृयामा सकारात्मक अन्य दलहरुसंग पनि संबाद अघि बढाउने निर्णय भएको हो । मधेस प्रदेशसभामा हाल १०६ सदस्य कायम रहेकोमा बहुमतका लागि ५४ सदस्यको समर्थनको आवश्यकता छ । तर अहिले तीन दलसँग ४७ सांसद छ । एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ९ जना सांसद छन् ।