टीकापुर घटना गराउनेको नाम भनिदिन्छौँ भन्दै रेशम चौधरीले प्रचण्डलाई लगाए यस्तो गम्भीर आरोप

बुधबार, ३० जेष्ठ २०८१

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले टीकापुर घटनामा जबर्जस्ती थारूहरूलाई दोषी बनाइएको भन्दै उनीहरुलाई राज्यले उचित क्षतिपूर्ति दिएर माफी माग्नुपर्ने बताएका छन्।

काठमाडौंमा बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवस कार्यक्रममा चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए। उनले गिरीशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेकोसमेत प्रष्ट पारे।

‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस्  लाल आयोगलाई सोध्नुस्। मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौं। टीकापुरको अब नाम भन्ने बेला आएको छ,’ चौधरीले भने।

सँगै मञ्चमा आसीन गृहमन्त्री रवि लामिछानेलाई उल्लेख गर्दै चौधरीले भने, ‘टीकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारूहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त गर्नुहोस्। हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्यायो, त्यो साढे ८ वर्ष जेलको कालकोठरीमा बस्नुपर्ने ?’

थारूलाई जोगाउनुपर्ने बताएका उनले नजिस्क्याउन चेतावनी दिँदै टीकापुर घटना घुसपैठ नभएर राज्यको सुनियोजित षड्यन्त्र भएको आरोप लगाए।

उनले जेलमा आफूलाई माओवादी नेताले नै त्यसको पुष्टि गरेको उल्लेख गर्दै भने, ‘कृष्णबहादुर महराजीले जेलमा भन्नुभएको छ, ‘एक ठाउँमा युद्ध नगरे संविधान जारी हुँदैन थियो रेशमजी, ठाउँको खोजी हुँदै थियो टीकापुर भयो, अच्छा भयो।’

यस्तै, चौधरीले आफू र श्रीमती रञ्जिता श्रेष्ठ बीचको सम्बन्धमासमेत फाटो ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल लागेको भन्दै उनलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको भन्दै कटाक्ष गरे।