अखिल (समाजवादी) धनुषाको बैठक : विद्यालयकाे सरसफाइ गर्दै सम्पन्न

शनिबार, ९ असार २०८१

धनुषा- अखिल (समाजवादी) जिल्ला समिति धनुषाको तेस्रो पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भयको छ । शनिबार जिल्ला अध्यक्ष रमन सीको अध्यक्षतामा बसेको बैठकको विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा धनुषा इन्चार्ज त्रीलोक सीका प्रमुख आतिथ्यता रहेकाे थियाे भने अखिल (समाजवादी) का केन्द्रिय सचीव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सी तथा नारायणी-मधेस प्रदेशका सह-इन्चार्ज लोकेश सी, पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य द्वय बिमल सी र दिपेन्द्र सीको अतिथ्यता रहेको थियो ।

जनकपुरमा बसेको बैठकले ३५ दिन देखि वेपत्ता विद्यार्थी सपना मण्डलको खोजि कार्य अगाडि बढाउने साथै केन्द्रिय योजनालाई कार्यन्वयन गर्दै संगठनात्मक अभियानलाई जोड दिने निर्णय गरेको छ । बैठकबाट सबै क्याम्पसहरुको इन्चार्ज तोक्दै, लागू औषध बेचबिखन तथा कर छली गरि सामान ओसारपसारमा रोक लगाउने र शैक्षिक माफियाविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

साथै प्राकृतिक सम्पदा दोहन रोक्ने र चुरे संरक्षण कार्यमा जुट्ने निर्णयसमेत गरेको छ । सँगै समाजमा व्याप्त सामाजिक विकृति, विसंगति र रुढीवादी परम्पराविरुद्ध सचेतना अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।

अखिल (समाजवादी )नारायणी -मधेस प्रदेशको निर्णय अनुरूप सबै राजनीतिक कार्यक्रमहरूमा केही न केही नमूना कार्य गर्ने निर्णय अनुसार आज बैठक बसेको रामजानकी माध्यमिक विद्यालयमा सरसफाइ गर्दै बैठक समापन गरेको जिल्ला सचिव कृष्ण सीले बताए ।