भेटिए खुल्लामञ्च बेच्ने दलाल, हेर्नुहोस् यस्तो छ उनको कालो विगत !

शुक्रबार, १३ बैशाख २०७६

काठमाडौं – खुलामञ्चलाई व्यक्तिगत सम्पत्ति जसरी बिक्री गर्ने ब्यक्तिको फेहरिस्त पत्ता लागेको छ । यसरी खुल्लामञ्च हडप्ने ब्यक्ति अरु कोही नभएर धेरै बैंकहरुले कालो सुचिमा राखेका निर्माण ब्यबसायी मनोजकुमार भेटवाल हुन ।

स्वच्छन्द बिल्डर्स प्रा.लिका मालीक भेटवालले सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरेर खुल्लामञ्चको जग्गामा ब्यापार गरिरहेका छन । एउटै सटरबाट ११ लाख रुपैयाँ बैना लिएर खुल्लामञ्च विक्र भइरहेको छ । स्वच्छन्द बिल्डर्सका अनुसार खुलामञ्चबाट मासिक १५ लाख भाडा संकलन हुँदै आएको छ । वार्षिक एक करोड ८१ लाख ५० हजार भाडा उठाए पनि कर एक शुक्को पनि सरकारलाई कर नतिरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सार्वजनिक सम्पत्तिबाट करोडौं असुली रहेको बिल्डर्ससँग कर लिनु त परको कुरा खुलामञ्च बिक्री गरेको नै महानगरलाई जानकारी थिएन । भेटवालको व्यक्तिगत स्वार्थका लागि २२ बैशाख ०७३ मा पुरानो बसपार्क खुलामञ्चमा सारेको थियो ।

पुरानो बसपार्कको २३ रोपनी जग्गामा भ्यू टावर बन्न लागेपछि उक्त ठेकेदार कम्पनीले खुलामञ्चमा बसपार्क सारेर आफ्नो हैकम जमाइरहेको छ । भ्यू टावर बनेउने जिम्मा पाएको उक्त कम्पनीले २२ फागुन ०७१ बाट काम शुरु गरेको थियो तर आजसम्म एक प्रतिशत पनि काम पूरा गर्न सकेको छैन ।

निर्वाचन हुन भन्दा पहिलानै सम्झौता भएकाले उनीसंगको सम्झौता तोड्न सकेको छैन । तर निर्माण कम्पनीलाई भने काम छिटो सक्नु भन्ने बारम्बार निर्देशन दिइरहेको छ ।

कालो विगत ?

भेटवाल त्यही व्यक्ति हुन्, जसलाई प्रहरीले डेढ अर्ब रुपैयाँ घोटाला गरेको भन्दै पक्राउ गरेको छ । उनले तत्कालीन एपेक्स विकास बैंकबाट त्यहाँका कर्मचारीसँगको मिलोमतोमा कमसल जग्गा धितो राखेर बैंक डुबाएका थिए ।

एपेक्स बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा मर्जर हुने सहमति भएपछि अनियमित तरिकाले कर्जा प्रवाह गरिएको थियो । एपेक्स बैंकको काठमाडौं दरबारमार्ग, भक्तपुरको लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जस्थित शाखाबाट अनियमित तरिकाले कर्जा प्रवाह गरेर एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ घोटाला भएको थियो ।

यही घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भेटवाललाई पक्राउ गरेको हो । विवादित छविका भेटवाललाई पछिल्लोपटक प्रभु बैंकले कालोसूचीमा राखेको छ । साँवा र व्याज तिर्न आनाकानी गरेपछि बैंकले भेटवालले धितो राखेको झापा सुरुङगामा रहेको जग्गा र घर लिलामी गरेको थियो ।

यसअघि एनआईसी एसिया बैंकले पनि उनलाई कालो सूचिमा राखेको थियो । ऋण नतिरेपछि भेटवालको नाममा दर्ता भएको इन्नोभेटिभ कन्सेप्ट नेपाल प्रालिको चलअचल सम्पत्ति बैंकले जफत गरेको थियो । यो प्रालिले काठमाडौं उपत्यकामा आकाशे पुल निर्माण गरेको थियो ।

भेटवाल नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)को पनि कालो सूचिमा छन् । बैंकले भेटवालको दमक १७, झापास्थित कित्ता नम्बर ४८५ को जग्गा लिलामी गरेको थियो ।