यी हुन् त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसका यात्रु

शुक्रबार, २९ असार २०८१

काठमाडौँ – वीरगन्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट रौतहट जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । उक्त बसमा ५१ जना यात्रुहरु रहेको प्रारम्भीक सूचना भेला परेको छ । काठमाडौँ र रौतहट टिक काउन्टरले प्रहरीलाई उपलब्ध गराएको विवरण अनुसार ५१ जना यात्री सवार रहेको पाइएको छ ।

काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। त्यसका क्रमशः ३१ र २१ जना यात्रीको विवरण रहेको छ। आज बिहान करिब ३ः३० बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै लेदोसहितको पहिरोमा परेर ती बस त्रिशूलीमा खसेका थिए। काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंहसहित ३१ जना सवार थिए।

कलङ्की स्थित गणपति ट्राभल्स बस काउन्टरले दिएको जानकारी अनुसार काठमाडौँबाट रौतहटका लागि २७ जना यात्रुले टिकट काटेर बस चढेका थिए। बस काउन्टरले उपलब्ध गराएको चलानी नम्बरमा बस चढेकाहरूको ठेगाना, मोबाइल नम्बर र नाम खुलाइएको छ भने थर उल्लेख गरिएको छैन।

काठमाडौँ बस काउन्टरबाट प्राप्त भएको विवरणको आधारमा घर परिवारमा सम्पर्क गर्ने प्रयास भइरहेको र प्रहरीले जनाएको छ। काठमाडौँबाट रौतहट तर्फ आउँदै गरेको गणपति ट्राभल्स बस पहिरोको कारण दुर्घटना भएर त्रिसूलीमा खसेको थियो। यस्तै वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बसमा २१ जना यात्रुको विवरण प्राप्त भएको छ। हालसम्म प्राप्त विवरण अनुसार बसमा ७ जना भारतीय नागरिक रहेका थिए।