कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगियो

शनिबार, ३० असार २०८१

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंग्याएका छन् । सभापति देउवाले पार्टीका इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेर नामको टुंगो लगाएका हुन्।

देउवाले यसपछि पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउनेगरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारी गरेका छन्। देउवाले यसपटक आफूलाई १४ औं महाधिवेशनमा साथ दिएका प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा मन्त्री पठाउने तयारी गरेका छन्। स्रोतका अनुसार अहिलेसम्म सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने निश्चित भएको छ।

गुट मिलाएर सरकारमा पठाउनका लागि देउवाले छलफल थालेका छन् । एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउनेछ। अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन्। अरु चार जना देउवानिकट कै हुन्। पाँच जनाको नाममा अनौपचारिक सहमति भएपनि थप मन्त्रीको विषयमा देउवाले छलफल गरिरहेका छन्। १४ औं महाधिवेशनबाट देउवा निकटमा रहेका शशांक कोइरालाले पनि एकजना मन्त्री भाग पाउँदैछन्।

उनले संखुवासभाका दिपक खड्का र दाङका दिपक गिरीमध्ये एकलाई पठाउने तयारी गरेका छन्। तर, खड्काको सम्भावना बलियो रहेको बताइन्छ। उनी शशांकसँग देउवा गुटमा पनि नजिकिँदै गरेकाले देउवाले पनि खड्काको नाममा सहमति जनाउने सम्भावना धेरै छ। यस्तै, कर्णाली प्रदेशबाट मुगुका ऐनबहादुर शाही र सुर्खेतका हृदयराम थानीमध्ये एकजना मन्त्री बन्दैछन्। थामी शेखर समूहका हुन् तर, पुर्णवहादुर खड्का देउवा परिवारसँग दूरी बढ्दै गएपछि थानीले सम्बन्ध बढाएको चर्चा चलेको छ । ।

यस्तै, शेखर समूहका नेता चन्द्र भण्डरीले पनि मन्त्री बन्नका लागि देउवा र शेखर ‘इमोसनल कुरा’ गरिरहेका छन्। तर, अझै मन्त्री बन्ने नबन्ने सुनिश्चित भइनसकेको बताइन्छ। महामन्त्री गगन थापाले पनि आफ्नो कोटामा काठमाडौंबाट निर्वाचित प्रदीप पौडेललाई पठाउन देउवालाई दबाब दिइरहेका छन्। तर, पौडेलको नाममा देउवा सकारात्मक भइसकेका छैनन्। थापाले अझै पनि देउवालाई प्रदिपको पक्षमा मनाउने प्रयास भने छाडेका छैनन् ।