आफ्नो सरकार, मन्त्रालय सबै गुमिसक्दा पनि नारायण काजीको सत्ता ‘मोह’
काठमाडौं – भर्खरै मात्र मन्त्रालयबाट बाहिरिएका निवर्तमान परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नयाँ परराष्ट्रमन्त्रीलाई निकट रहेर साथ दिन चाहेको बताएका छन् । परराष्ट्र सम्बन्धलाई सही ढंगले अघि बढाउन र कूटनीतिक अभ्यास सही ढंगले होस् भन्ने चाहाना आफ्नो रहेकाले केही समयका लागि भोलेन्टियर (स्वयंसेवक) सल्लाहकार भए पनि बनाउनु न भनेर एउटा निवेदन हाल्ने बताएका हुन्।
आइतबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा निःवर्तमान परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्दो पहल गरेको बताए ।
उनले भने, ‘केही काम छ यो मन्त्रालयको । त्यसलाई पूरा गर्न तपाईंको भोलेन्टियर बनाउनु न भन्न मन लागिरहेको मलाइ छ ।’
१८ महिना मन्त्री भएका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चार महिना परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाले । १० पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका उनले करिव ११ महिना गृह मन्त्रालयको नेतृत्व गरे ।
फागुन २०८० मा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि श्रेष्ठ परराष्ट्रमा पुगे । यसअघि पनि यो मन्त्रालयको नेतृत्व गरिसकेका श्रेष्ठ सफल परराष्ट्रमन्त्री मानिन्छन् ।