नवनियुक्त कृषिमन्त्री अधिकारीलाई पहिलो गाँसमै ढुङ्गा
काठमाडौँ – नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई पहिलो गासमै ढुंगा लागेको छ । सोमबार पद तथा गोपनीयताको शपथ लिएका उनले कर्मचारीको आन्दोलनका कारण उनी पदभार ग्रहण कार्यक्रम प्रभावित बनेको छ ।
धादिङ–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका अधिकारीलाई पद बहालीका लागि मन्त्रालय पुग्दा प्रवेशद्वारमै अवरोध भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा एक सयको हाराहारीमा कर्मचारीले वृत्ति विकासको माग गर्दै १६ दिनदेखि धर्ना दिँदै आएका छन् ।
नवनियुक्त मन्त्री अधिकारी कार्यभार सम्हाल्नका लागि १६ दिनदेखि धर्नामा बसेका कर्मचारी अवरोध बनेका छन् । उनले पदभार ग्रहण गर्नु अघि नै आन्दोलनरत कर्मचारीको सामना गर्नु प¥यो । यद्यपि, उनले आन्दोलित कर्मचारीलाई भेटेर समस्या समाधानको आश्वासन दिएका छन् ।
कृषि क्षेत्रमा दुधको वक्यौता रकम भुक्तानी, कृषि लगानी दशक घोषणा, रासायनिक मलको वितरण प्रणाली, उखुको सहुलियत रकम, कृषि बीमाको अनुदान भुक्तानी, जलवायु परिवर्तनले देखिएका नयाँ रोग किरा, कृषि क्षेत्रमा कर्मचारी व्यवास्थापन लगायत समस्या र कार्यान्वयनका लागि नवनियुक्त कृषिमन्त्री अधिकारीका लागि चुनौती देखिएको छ ।