आरक्षणको विरुद्धमा चर्कियो आन्दोलन, शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द
काठमाडौं – बंगलादेशमा रोजगारीमा भएको आरक्षणको विरोधमा प्रदर्शन चर्किएको छ । सो क्रममा ६ जनाको प्रदर्शनकरीको मृत्यु भएको छ । यो घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ ।
बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका नागरिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिने व्यवस्था गरिएको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।
आलोचकहरूका अनुसार यो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका बच्चाहरूलाई अनुचित रूपमा फाइदा पुर्याउनेछ । शेख हसिना जनवरी महिनामा लगातार चौथो निर्वाचनमा विजयी भएकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन्।
बंगलादेशमा विगत केही दिनदेखि सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन भइरहेको छ । केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो । गत महिना मात्र एक अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको थियो।