प्यावसकले गर्यो उत्कृष्ट शिक्षकलाई सम्मान

बुधबार, ९ साउन २०८१

काठमाडौं – निजी र बोर्डिङ स्कुल संगठन, काठमाडौं (प्यावसक)ले गुरु पूर्णिमा २०८१ भव्य रुपमा मनाएको छ । काठमाडौंको सरस्वतीनगरस्थित एवन क्याफेमा अपराह्न ४ बजे देखि राति ९ बजेसम्म विशेष समारोहको आयोजना गर्दै गुरु पूर्णिमा मनाएको हो ।

उक्र कार्यक्रममा सदस्य विद्यालयका उत्कृष्ट शिक्षकहरूलाई पुरस्कार र फेलोशिपसहित सम्मान गरेको छ । डा. स्वामी केशवानन्दको उपस्थितिले कार्यक्रमलाई शोभायमान बनाएको थियो । उक्त अवसरमा उनले दिएको सन्देश तथा आध्यात्मिक शिक्षाको बारेमा अत्यन्त प्रशंसा गरिएको थियो ।

अतिथिहरूमा एनप्यावसनका केन्द्रीय समितिका सचिव विष्णु पराजुली, एनप्यावसन बागमती प्रदेशका सचिव गेन्द्र लामा र प्यावसकका सल्लाहकारहरू शम्भु अधिकारी, नारायण बाबु तिम्सिना र भीष्म ढकालको उपस्थिति रहेको थियो । कार्यक्रम प्यावसकका कोषाध्यक्ष राजेश्वर तिवारीले संयोजन गरेका थिए भने महासचिव सुदीप काफ्लेले सञ्चालन गरेका थिए । कार्यक्रममा मनास्लु वर्ल्ड कलेज, भिएस कलेज, टेक्सास इन्टरनेशनल कलेज, पुष्पलाल मेमोरियल कलेज र सुटमाला टेलर्सले प्रायोजन गरेका थिए।

४०० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको यस कार्यक्रममा ३० भन्दा बढी विद्यालयहरूको प्रतिनिधित्व थियो। यसले शैक्षिक समुदायको सामूहिक भावना र समर्पणको प्रमाण प्रस्तुत गरेको थियो। आयोजकहरूले आगामी दिनहरूमा पनि यस्तै उत्साह, जोश र सकारात्मकता कायम राख्न अपेक्षा गरेका छन्।

प्यावसकका अध्यक्ष राजन श्रेष्ठले कार्यक्रममा अध्यक्षता गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । अध्यक्ष श्रेष्ठले कार्यक्रमको समापन गर्दै सबै विशिष्ट अतिथिहरू, कार्यकारी टोलीका सदस्यहरू, विद्यालय शिक्षकहरू, प्रायोजकहरू, अतिथिहरू र सहभागीहरूलाई अमूल्य योगदानको लागि धन्यवाद दिएका थिए । साथै, आगामी दिनहरूमा पनि यस्तै उत्साह र सकारात्मकता कायम राख्न आग्रह गरेका थिए ।