पहिलो महिला मुख्यसचिव गड्तौलाको सफलताको कथा
काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्ति गरेको हो ।
यसअघि उनी कायममुकायम मुख्यसचिवको रूपमा काम गर्दै आएकी थिइन् । सरकारको यो निर्णयसँगै देशले पहिलो महिला मुख्यसचिव पाएको छ । कर्मचारीको नेतृत्वमा एक महिनाका लागि सरकारले गड्तौलालाई नियुक्ति दिएको हो ।
नेपालको इतिहासमा उनी पहिलोपटक पूर्ण जिम्मेवारीसहितको पहिलो कामु मुख्यसचिव हुँदै मुख्यसचिव बनेकी छन् । तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनले उक्त जिम्मेवारी पाएकी थिइन् ।
अख्तियारले असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गरेर गड्तौलालाई जिम्मेवारी दिएको थियो । उनी प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव थिइन् । गड्तौला वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने सूचीमा थिइन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई कामु मुख्यसचिव बनाएको थियो । तत्कालीन सरकारले आफू अनुकूलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म कायम मुकायम मुख्यसचिवको रूपमा उनलाई नियुक्त गरेको थियो । तर वर्तमान सरकारले उनलाई पूर्ण जिम्मेवारी दिएको हो ।
उनीभन्दा माथि मुख्यसचिवको लाइनमा तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनारायण अर्याल थिए । तर उनले बाजी मार्न सफल भइन् । गड्तौला लामो समयसम्म कर्मचारी प्रशासनको नेतृत्वमा भने बस्ने छैनन् । उमेर हदका कारण उनले भदौ १५ गते अनिवार्य अवकाश पाउने छिन् । ५८ वर्षको उमेर हदका कारण उनी अनिवार्य अवकाशमा जानेछिन् ।
सहसचिवबाट २०७७ कात्तिक २७ गते सचिवमा बढुवा भएकी गड्तौला ३ वर्ष १० महिने सचिवको कार्यकाल पुरा गर्नेछिन् । २०२३ साल भदौ १५ गते जन्मिएकी गड्तौला २०८१ भदौ १५ गते ५८ वर्ष पूरा गर्ने भएका कारण सचिवको ५ वर्षे कार्यकाल पूरा गर्न नपाएरै अनिवार्य अवकाशमा जाने भएकी हुन् ।
तेह्रथुमको पिप्ले (हाल म्याङ्लुङ–४) मा २०२३ भदौ १५ गते जन्मेकी गड्तौला मध्यमस्तरीय परिवारकी सदस्य हुन् । छोरीहरूलाई पढाउनुपर्छ भन्ने शैक्षिक चेतना भएको परिवारमा हुर्केकी भएकाले सानैदेखि उनमा कानुन शिक्षाप्रति रुचि रहेको थियो । सोही कारण उनले कानुन क्षेत्रलाई रोजिन् ।
उनी २०५२ पुसमा शाखा अधिकृतबाट कानुन सेवामा प्रवेश गरेकी थिइन् । सिंह वाहिनी माध्यमिक विद्यालयमा विद्यालय तहको अध्ययन पुरा गरेकी उनले त्यसपछि नेपाल ल क्याम्पसबाट आइएल र बीएल उत्तीर्ण गरिन् । उनले थप अध्ययनका लागि काठमाडौँ स्कुल अफ ल पुगिन् । उनले त्यहाँबाट ह्यूमन राइट्स एन्ड जेन्डर जष्टिस (मानव अधिकार र लैगिक न्याय) मा स्नातकोत्तर (एलएलएम) गरिन् । उनले कानुनमा मात्र चित्त बुझाइनन् । अध्ययनमा मेधावी गड्तौलालाई राजनीतिशास्त्र पढ्ने रहर लाग्यो । रहर पुरा गरेरै छाड्ने हठी स्वभावकी गड्तौलाले राजनीतिशास्त्रमा समेत एमए पास गरिन् ।
२०६३ कात्तिकमा उपसचिव हुँदै २०७० माघमा सहसचिव बनिन् । त्यसको सात वर्षपछि २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा भइन् । २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव र असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव बनेकी गड्तौला बिहीबारबाट मुख्यसचिव भएकी छन् । उनले देवानी संहिता मस्यौदा कार्यदल सदस्य रहेर काम गरेकी थिइन् । हाल लागू भएको देवानी संहिता निर्माणका क्रममा उनले आफ्नो क्षमता प्रदर्शन गरेकी थिइन् ।
करिब १७ वर्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम गरेकी उनले विशेषतः विधेयक मस्यौदामा दक्खल राख्छिन् । उनीसँग गृह मन्त्रालय, जलस्रोत मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव रहेको छ। उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचन अधिकृत भएर काम गरेकी थिइन् ।
मुख्यसचिव नियुक्त भएलगत्तै उनले आफू छोटो अवधिका लागि मुख्यसचिव हुने भएपनि विवादरहित रूपमा काम गर्ने वाचा गरिन् । उनले आफ्नो कार्यकालमा कर्मचारी प्रशासनलाई चुस्त बनाउनुका साथै सबै कर्मचारीलाई हौसला प्रदान गरेर काम गराउने बताइन् । कर्मचारीहरूको मनोबल बढाउँदै सरकारलाई सहयोग गर्ने उनले बताइन् ।
उनले न्याय सेवामा कानुन अधिकृतमा एक नम्बरमै नाम निकालेकी थिइन् । उपसचिवमा प्रतिस्पर्धा गर्न पाइनन्, फाइल बढुवाबाट उपसचिव बनिन् । सहसचिवको प्रतिस्पर्धामा भने उनले एक पटक फेल भएपनि दोस्रोपटक नाम निकाल्न सफल भइन् । ‘त्यतिबेला फेल भए पनि आज त्यसैकारण उपहार पाएँ’, मुख्यसचिव गड्तौलाले बिहीबार एक सार्वजनिक कार्यक्रममा भनिन् ।
९ माघ २०७० मा सहसचिवमा बढुवा भएकी गड्तौला २७ कात्तिक २०७७ मा सचिवमा बढुवा भएकी थिइन् । न्याय सेवाको सचिवका रुपमा उनले आफ्नो चाहानाअनुसार अवसरहरु भने पाइनन् । सहसचिवका रूपमा काम गरेको कानुन मन्त्रालयमा उनले सचिवका रूपमा भने जिम्मेवारी लिएर जान नै पाइनन् । न्याय सेवाका सचिवहरु कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्र पदस्थापन हुन्छन् ।
आगामी १५ भदौमा ५८ वर्षे उमेर हदका कारण उनी अवकाश हुँदै छिन् । मुख्यसचिवको पदावधि ३ वर्षको हुने भए पनि उनको सेवा अवधि अब जम्मा ३७ दिनमात्र छ ।अवकाशअघि गड्तौलाले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सचिवका रुपमा काम गर्न जान नपाउने निश्चित भइसकेको थियो । उनी तुलनात्मक रुपमा फुर्सदिलो मानिने प्रधानमन्त्री कार्यालयमा अवकाशको दिनको प्रतिक्षामा थिइन् । गत चैतसम्म त उनी आफ्नो अवकाश सिंहदरबारबाट हुनेमै सशंकित थिइन् ।
२७ कात्तिक २०७७ मा सचिवमा बढुवा भएपछि उनले सरकारले खटाएको कानुन आयोगमा विना गुनासो काम गरिरहेकी थिइन् । ५ साउन २०८० मा कानुन मन्त्रालयका सचिव धनराज ज्ञवाली अवकाश भएसँगै वरिष्ठताका आधारमा गड्तौला कानुन मन्त्रालयको सचिवको प्रमुख दाबेदार थिइन् । तर, तत्कालीन कानुन न्याय तथा संसदीय मामिलामन्त्री रहेका कांग्रेस उपसभापति धनराज गुरुङले गड्तौलालाई आयोगबाट मन्त्रालयको सचिवमा ल्याउन चाहेनन् । बरु कानुन सचिवका रुपमा काम गरिसकेका र त्यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका रहेका सचिव उदयराज सापकोटालाई ल्याए ।
योसँगै गड्तौलाको कानुन मन्त्रालयको पहिलो महिला सचिव हुने सम्भावना टर्यो । उनी भदौ २०८० मा आयोगबाट सापकोटाको ठाउँमा प्रधानमन्त्री कार्यालयमा आइपुगिन् ।त्यसपछि फागुन २०८० मा एमालेसँगको नयाँ गठबन्धन सरकार बनेपछि एमालेका पदम गिरी कानुन मन्त्रीका रुपमा आए । उनले पनि गड्तौलालाई रोजेनन्, बरु भदौ २०८० मा मात्रै सचिवमा बढुवा भएका अर्थात् उनीभन्दा जुनियर फणीन्द्र गौतमलाई मन्त्रालयमा लैजाने निर्णय गराए ।
गड्तौलालाई कानुन मन्त्रालयमा पठाउनेबारे सामान्य छलफल समेत भएन, बरु उनलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएर सचिव सापकोटालाई प्रधानमन्त्री कार्यालयमा फर्काउन खोजियो । तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालले गरेको यो प्रयास सफल हुन पाएन । तत्कालीन प्रधानमन्त्री प्रचण्डले लामो समय कानुन आयोगमा सचिवका रुपमा बिताइसकेकी गड्तौलाको अवकाश हुनसमेत धेरै समय बाँकी नभएको भन्दै सरुवा रोकिदिए ।
सचिवमा बढुवा भएको ३४ महिनासम्म नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको नेपाल कानुन आयोगमा काम गरेपछि मात्रै उनी सिंहदरबारमा पस्न पाएकी गड्तौलालाई सम्मानपूर्ण अवकाश मात्रै अपेक्षा थियो । अवकाश हुन २ महिना बाँकी रहँदा १० असार २०८० मा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेसँगै उनको करिअरले नयाँ मोड पायो । अर्यालको निलम्बनसँगै प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिवमध्ये वरिष्ठताका आधारमा उनी निमित्त मुख्यसचिव बनिन् ।
एमाले र कांग्रेसको नयाँ गठबन्धन सरकारको पहिलो मन्त्रिपरिषद बैठक (३१ असार) ले उनलाई कायममुकायम मुख्यसचिव नियुक्त गर्ने निर्णय गर्यो । स्वभाविक दाबेदार हुँदा पनि मन्त्रालयको सचिवसमेत हुन नपाएकी गड्तौलालाई बिहीबारको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गर्यो । सचिवका रुपमा उनले पहिलो कानुन मन्त्रालयको पहिलो महिला सचिव बन्ने उद्देश्य नराखेकी होइनन्, तर उनले चिताउँदै नचिताएको मुख्य सचिव पदमा उनी नियुक्त भएकी छिन् ।
अब एक महिनाभन्दा बढी उनले निजामती प्रशासनको नेतृत्व गर्नेछिन् । सचिवका रूपमा न्याय नपाएको तीतो अनुभव संगालेकी उनले समग्र कर्मचारीमा व्याप्त बेथितिको अन्त्य, विधिको शासन तथा न्यायपूर्ण प्रणाली विकास र सार्वजनिक सेवामा सुधारका लागि छोटो समय भएपनि काम गर्न पाउनेछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकको पहिलो एजेन्डाकै रुपमा नेपालकै पहिलो महिला मुख्यसचिवका रुपमा गड्तौलालाई मुख्यसचिव बनाउने प्रस्ताव राखेका थिए । मन्त्रीहरुले प्रस्तावलाई समर्थन गरेका थिए ।
‘मैले जिम्मेवारीवोध भएको महसुस गरेको छु, मैले कल्पना गरेको पद होइन’, मुख्यसचिव नियुक्तिपछि एक सार्वजनिक कार्यक्रममा गड्तौलाले भनिन्, ‘कसैले भाग्यले भन्छन्, कसैले कर्मले, मैले बुझेसम्म कर्म गर्दै जानुपर्छ, भाग्यले पनि साथ दिन्छ ।’ आफू छोटो अवधिका लागि महिला मुख्यसचिव भएपनि यसमा सबै महिलाहरुको अव्यक्त चाहना र भावनाले काम गरेको उनको भनाइ छ ।
उनले आफ्नो नियुक्तिलाई लिएर हुनसक्ने विवादको पनि बचाउ गरेकी छिन् । विगतमा वरिष्ठतामा ८ औं नम्बरमा रहेका सचिव लीलामणि पौडेललाई मुख्य सचिव बनाएको उदाहरण दिँदै उनले यसपटक पनि आफू आठौं नम्बरमै रहेर मुख्यसचिव बनेको बताइन् । ‘हिजो आठौं नम्बरमा रहेर लीलामणि पौडेल र आज म लीलादेवी गड्तौला नाम मिलेकै मान्छे मुख्यसचिव भयौं’, उनले भनिन् ।
तेह्रथुममा जन्मिएकी गड्तौलाका अनुसार उनी गाउँमा घाँस काट्ने, गोबर सोहोर्ने, पानी पोक्ने घर लिप्नेजस्ता ग्रामीण परिवेशका काम गरेरै हुर्किएकी हुन् । उनी विद्यालय शिक्षा पूरा गरेर थप अध्ययनका लागि काठमाडौं आएकी थिइन् । ‘त्यतिबेला मेरो गाउँबाट कुनै छोरी मान्छेले डेरामा बसेर पढेका थिएनन्, कोही बाहिर बसेपनि आफन्तकोमा बस्थे’, उनले भनिन्, ‘मैले त्यतिबेलै पनि त्यो आँट गरेँ, पढ्न छोडिनँ ।’
उनले आफूले कानुन मन्त्रालयको सचिव बन्न धेरै प्रयत्न गरेको र अवकाश हुनुअघि एकपटक मन्त्रालयको प्रशासकीय नेतृत्व गर्ने रहर पूरा हुन नपाएको बताइन् । ‘म मन्त्रालयमा जान अवसर नपाउनुको कारण नै यो पद पाएँ’, उनले भनिन्, ‘म जस्तोसुकै परिस्थितिमा सकारात्मक सोच्छु, त्यसले राम्रो गर्ने रहेछ ।’