माओवादीले लगाए सर्वोच्च अदालतभित्रै तालाबन्दी

बुधबार, १६ साउन २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले सर्वोच्च अदालतभित्र तालाबन्दी गरेको छ । लोकसेवा आयोगले लिने परीक्षाको तयारीका लागि सर्वोच्च अदालभित्रै ट्युसन सेन्टर संचालन गरेपछि त्यसको विरोधमा तालाबन्दी गरिएको हो ।

नेपाल न्याय सेवा समूह अन्तर्गत लोक सेवा आयोगले लिने उपसचिव तहको परीक्षाको तयारीका लागि प्रतिव्यक्ति १३ हजार ५ सय रुपैयाँ उठाएर ट्युसन सेन्टर चलाएपछि नेपाल राष्ट्रिय कर्मचारी संगठनले तालाबन्दी गरेको छ। सर्वोच्च अदालतको एनेक्स भवनमा ट्युसन सेन्टर संचालन गर्न नेकपा एमाले निकट कर्मचारी संगठनले सूचनासमेत जारी गरेको थियो। उक्त सूचनामा साउन १५ देखि कक्षा संचालन गर्ने र भर्नाको अन्तिम म्याद साउन १३ गतेसम्म रहेको उल्लेख गरेको छ।

व्यापारिक प्रयोजनार्थ ट्युसन सेन्टर संचालन गर्न दिएको विरोधमा सर्वोच्चका मुख्य रजिष्टार देवेन्द्रराज ढकाललाई मौखिक गुनासो गर्दापनि त्यसको सुनुवाई नभएपछि ताला लगाउनु परेको माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको भनाइ छ।