आँफैले समर्थन गरेको ओली सरकारप्रति यसकारण छैनन् शेखर कोइराला बिश्वस्त
काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसद्का दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरङ्कुशता जन्मने शङ्का पैदा भएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरङ्कुशता जन्मने शङ्का पैदा भएको भन्दै सरकारलाई ठिक बाटोमा ल्याउन आवाज उठाउनुपर्ने धारणा राखे ।
उनले भने,‘अहिले कहीँकतै केही कमजोरीहरू सरकारमा देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ । किनभने दुई वटा ठूला दल सरकारमा छन् । नेपाली कांग्रेस र एमाले ठूला दल एकै ठाउँमा भएपछि निरङ्कुशता जन्मने पनि त्यतिकै शङ्का छ । हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कै पनि सरकार ठिक बाटोमा हिँड्छ र हामी अगाडि बढ्न सक्छौ ।’
नेता कोइरालाले सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नभएका लगायतका कारणले कांग्रेस र एमालेको सरकार गठन गर्नुपर्ने बाध्यता आएको बताए ।