माधव नेपाललाई छोडेर ओलीको सरणमा पुगेका १० भाईको हरिबिजोक

सोमबार, २१ साउन २०८१

काठमाडौं -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०भित्र गुटैगुट रहेको नेताहरूको असन्तुष्टिले पुष्टि भइरहेको छ। विभिन्न गुट सक्रिय रहेको एमालेमा ‘१० भाइ’को नामले चिनिने एक समूहको झन बिजोग अवस्था रहेको छ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी नै दिनुपर्ने अवस्था आएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा ओलीले गुटबन्दी स्वीकार्य नभएको बताए । पछिल्लो समय एमालेभित्र भएको जिम्मेवारी हेरफेर विषयलाई लिएर नेताहरूले असन्तुष्टि व्यक्त गर्न थालेपछि ओलीले यस्तो चेतावनी दिन बाध्य भएका हुन् ।

ओलीले भने, ‘पार्टीमा गुटबन्दी स्वीकार्य छैन, गुटबन्दी आफूले नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि नदिने’

ओलीले एमालेमा लामो समय गुटबन्दी भएकाले विभाजन भएको बताउँदै भने, ‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन्, पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो, हाम्रो पार्टीमा पनि लामो समय गुटबन्दी थियो, त्यही कारण विभाजन पनि भयो, अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’

उनले आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि नदिने दाबी गरे । तर, हालै भएको जिम्मेवारी हेरफेरमा उनले आफूनिकटका नेताहरूलाई राम्रो र बढी जिम्मवारी दिएका छन् । अरू समूहका नेताहरूलाई पाखा लगाउने काम भएको एमालेका एक पदाधिकारीले बताए ।

एमालेमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरूको प्रभावकारी समूह छ । उपाध्यक्ष विष्णु पौडेलको छुट्टै समूह छ भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि समूह सक्रिय रहेको छ । यस्तै, पूर्वमाओवादी केन्द्रबाट एमालेमै रहेका नेताहरूको छुट्टै समूह रहेको छ । जसको नेतृत्व उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने गरेका छन् ।

एमाले र नेकपा भएको समयमा माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका नेताहरूको एक छुट्टै समूह छ । जसलाई ‘१० भाइ’का नामले समेत चिनिन्छ । एमालेभित्र १० भाइका रूपमा रहेको समूहमा डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्तलाई चिन्ने गरिन्छ ।

यी नेताले तत्कालीन नेकपामा रहेका बेला ओलीको गलत कार्यशैलीका विरुद्धमा कडा आलोचना र विरोध गर्दै आएका थिए । तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक समूहमा उभिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दा उनीहरूले विरोध गर्दै आएका थिए । सोही कारण यी नेताले पार्टीदेखि अन्य महत्वपूर्ण ठाउँमा जिम्मेवारी पाउँदैनन् । ओलीको पेलानमा पर्दै आएका यी नेताहरू अचेल ओलीको विरोध गर्न सक्दैनन् । ओलीको खुलेरै समर्थन गर्दै आएको भए पनि उनीहरूमाथि ओलीको विश्वास छैन ।

‘पार्टीमा ओली र महासचिव शंकर पोखरेलहरू हावी छन्, उनीहरूले मन पराएकै नेताले राम्रो जिम्मेवारी पाउने हो, त्यसपछि पूर्वराष्ट्रपति विद्याजी निकटकाले पाउने हो,’ एमालेका एक पदाधिकारीले भने, ‘पूर्वमाओवादी र १० भाइहरूको अवस्था बिजोग छ, पूर्वमाओवादीले कहीँ कतै केही पाए पनि १० भाइलाई छानीछानी डाम्ने काम भइरहेको छ ।’