कांग्रेस सांसदकै पीए जब खुकुरी बोकेर सडकमा आए…
काठमाडौं – नेपाली कांग्रेसका एक सांसदका सहयोगीले दिदहाडै खुकुरी नचाएको पाइएको छ । म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेस सांसद खमबहादुर गर्बुजाका पीए पृजेन भट्टचनले सुन्धारामा दिउसै खुकुरी नचाएका हुन् ।
उनले एक ट्याक्सी चालकलाई खुकुरी प्रहारको प्रयास गरेका थिए । यो घटना साउन १३ गते बिहान सवा ८ बजेको हो । सुन्धाराको माउन्ट गोर्खा होटल अगाडि ट्याक्सी रोकेको निहुँमा विवाद हुँदा भट्टचनले ट्याक्सी चालक सन्तोष मगरलाई खुकुरी प्रहारको प्रयास गरेका थिए ।
ट्याक्सी चालक मगरका अनुसार यात्रु छाडेर फर्कदै गर्दा मोबाइलमा फोन आएपछि साइड लगाएर उनी फोन उठाउन लागेका थिए । त्यही बेला भट्टचनले ‘ओई यो ट्याक्सी हटा, यहाँ रोक्छस् ?’ भन्दै गाली गरेको मगरले बताए । कसलाई गाली गरेको भन्दा आफूलाई दुई मुक्का हानेको उनले बताए । त्यसपछि होटलभित्र प्रवेश गरेका भट्टचनले पत्रिकाले बेरेर खुकुरी लिएर आएका थिए ।
खुकुरी खोस्ने क्रममा ट्याक्सी चालकहरु नरबहादुर श्रेष्ठ र कुमार श्रेष्ठको हात काटिएको छ । त्यसपछि ट्याक्सी चालकहरुले प्रहरी वृत्त जनसेवामा फोन गरेर प्रहरी बोलाई भट्टचन जिम्मा लगाएका थिए । तर प्रहरीले जाहेरी नै दर्ता नगरेको उनीहरुको आरोप छ । जनसेवा प्रहरी वृत्तका डीएसपी रुकेश तण्डुकारले सुरुमा घटनाबारे अनविज्ञता प्रकट गरे ।
तर कांग्रेसका सांसदको पीए भएकै कारण माथिल्लो निकायबाट प्रहरीमाथि दबाब आएपछि जाहेरी दर्ता नगरिएको प्रहरी स्रोतको दाबी छ । भट्टचनले पनि ट्याक्सी चालकसँगको विवादमा आफूले खुकुरी लिएर गएको स्वीकार गरे । ‘आवेगको बेलामा के–के हुने रहेछ, खुकुरी लिएर जान हुन्थेन, त्यस्तै भयो । आफ्नो सुरक्षाका लागि लगिएको हो । कसैलाई आक्रमण गर्न लगिएको होइन’, भट्टचनले भने ।
सुन्धारामा ट्याक्सी चालक र होटल व्यवसायीहरुको विवाद पुरानै हो । भट्टचनले भने, ‘म होटल व्यवसायी संघमा छु । ट्याक्सीवालालाई बारम्बार भन्दा पनि ट्याक्सी पार्किङ गर्ने क्रम रोकिएन । त्यो दिन पहिले उनीहरुले मलाई मुख छाडेका हुन् । त्यसपछि भनाभन भयो ।’ ट्याक्सी चालकहरुले आफूमाथि आक्रमण गर्न खोजेपछि खुकुुरी लिएर गएको भट्टचनको भनाइ छ । ‘ममाथि आक्रमण गर्न खोजेपछि आफ्नो सुरक्षाका लागि त्यस्तो गरेको हो । आवेगको बेलामा त्यस्तो हुने रैछ’, उनले भने ।