सहकारी ठगी आरोप लागेका गाउँपालिका अध्यक्ष फरार
काठमाडौँ – सहकारीको रकम हिनामिना गरेको आरोप लागेका स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् । सूर्योदय सहकारीको बचतकर्ताको रकम अपचलन गरेको आरोप उनीमाथि छ । उनको समेत संलग्नतामा ३ करोड ६६ लाख रुपैयाँ हिनामिना भएको छानबिन समितिले पत्ता लगाएको हो ।
सूर्योदय र जनजागृति सहकारी मिलेर २०७४ सालमा सूर्योदय सहकारी बनेको थियो । कुँवर उक्त सहरकारीको सचिवका रूपमा काम गरे । कुँवरले बचत रकम अपचलन गरी एमालेका सांसदलाई दिएको र उनले समेत निर्वाचनमा खर्च गरेको पाइएको छानबिनमा संलग्न एक अधिकारीले बताएका छन् ।
छानबिनमा दोषी देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २८ गते कुँवर, बिरुवा सेवा केन्द्रका संयोजक तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाकी कर्मचारी सन्ध्या भण्डारी विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । तारेन्द्र र सन्ध्यालाई यसअघि नै पक्राउ गरिसकिएको स्याङजा प्रहरी प्रमुख एसपी शालिग्राम शर्माले जानकारी दिए ।